
गणतन्त्र, नयाँ संविधान, माओवादी लडाकुको व्यवस्थापनजस्ता कामलाई उपलब्धिका रुपमा लिन सकिए पनि संक्रमणकालीन न्याय र आर्थिक–सामाजिक रुपान्तरणको काम अपेक्षाकृत ढंगले अघि नबढ्नुमा कसको कमजोरी हुनसक्छ ?
–हामी त यो संविधान पनि स्वीकार गर्दैनौँ । किनभने १० वर्षको जनयुद्ध यो खालको संविधान बनाउनका लागि गरिएकै थिएन । नयाँ जनवादी जनगणतन्त्रका लागि जनयुुद्ध गरिएको हो । शान्ति प्रकृयाको केही भागमात्रै नभएर समग्र राष्ट्रियता र जनजीविकाको सवाल पनि सम्बोधन भइरहेका छैनन् । किन यस्तो भयो भन्ने प्रश्नमा गलत ढंगले सम्झौता गरियो । पार्टीका साथीहरु गलत ढंगले अघि बढे । आत्मसमपर्णवादी नीति लिएर उनीहरु अघि बढे । त्यसै कारण यो विषय लम्बिँदै गयो ।
गलत ढंगले सम्झौता भयो भन्नुभयो । के के विषय गलत थिए त ?
– प्रस्टै छ नि । हामीले जनयुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नका लागि भनेका थियौँ, त्यो त भएन । गलत त्यही भयो । यस्तो संविधान बनाउन भनेर हामीेले जनयुद्ध गरेका थिएनौँ । यो त पुरानै संसदीय संविधान भयो । जब हामी पुरानो संविधानविरुद्ध आन्दोलन गर्छौँ अनि घुम्दै फिर्दै फेरि त्यही पुरानै संसदीय व्यवस्थामा सम्झौता गर्छौँ भनेपछि हाम्रो लक्ष्यअनुसारको यात्रा भएन ।
शान्ति सम्झौतापछि केही उपलब्धि नै नभएका हुन् र ?
– आंशिक सुधार र उपलब्धि भए त्यो निश्चित कुरा हो । तर समग्र उपलब्धि हुन सकेन ।
नेपालको शान्ति प्रकृया टुंगोमा पुग्न नदिन विदेशीहरुको चलखेल पनि भइरहेको छ भनिन्छ नि ?
– विदेशीको चलखेल त यसै छ उसै छ । विदेशीको चलखेल शान्ति प्रक्रियाका विषयमा मात्रै भन्ने कुरा होइन । नेपालमा १४ वर्ष अघिको शान्ति प्रक्रिया हुनुभन्दा अघि पनि चलखेल थियो । अहिले शान्ति प्रक्रियासँग नजोडिएका कुराहरुमा पनि भइरहेको छ । लिम्पियाधुरामा भारतले अतिक्रमण गरेकै छ । अमेरिकाको एमसीसी ल्याउन शान्ति प्रक्रियासँग के मतलब रह्यो र ? कुरा के हो भने माओवादीहरुसँग बदला लिन यसरी हलो अड्काइएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यसँग रातोपाटी अनलाइनले गरेको कुराकानीको सानो अंश ।







