
सत्ताधारी नेकपामा पहिलो अध्यक्ष एवं प्रधानमन्त्री ओली समुहले उपाध्यक्ष वामदेव गौतमलाई नयाँ प्रस्ताव राखेर आफुतिर तान्ने नयाँ एजेण्डा राखेका छन् ।
सत्ताधारी नेकपाभित्र अहिले सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा छन् । नौ सदस्यीय सचिवालयमा ओलीको पक्षमा चारजना देखिएका छन् । प्रचण्डको पक्षमा पाँचजना छन् । ओलीको पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल देखिएका छन् । प्रचण्डको पक्षमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् ।
ओलीले छजना विरोधी सचिवालय सदस्यमध्ये माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर प्रयास गरे । नेपाल र खनाल पक्षमा नआउने निश्चित भइसकेको छ । दुवै नेता कहाँ ओलीका विश्वासपात्रहरु पुगेर छलफल गरेपनि सफल भएन । ओलीले नेपालसँग तीनपटक छलफल गरे । तर, कुरा मिल्नुका साटो टकराव बढेर गयो ।
ओलीले अझै उपाध्यक्ष बामदेव गौतमलाई पक्षमा तान्न प्रयास छाडेका छैनन् । गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव गइसकेको छ । उनलाई चुनावी प्रधानमन्त्रीको प्रस्ताव पनि राखिएको छ । तर, गौतम विगतमा धोका खाएको भन्दै ओली पक्षमा जान तयार छैनन् । उनलाई मनाउन महासचिव विष्णु पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पटक पटक प्रयास गरेका थिए । तैपनि, माहोल बन्न सकेन ।
शुक्रबार साँझ उपप्रधानमन्त्री ईश्वर पोखरेल भैंसेपाटीस्थित वामदेव निवासमा पुगे । उनले गौतमलाई भविष्यमा मिलेर जान सकिने विषयमा छलफल गरेको बुझिएको छ ।







