
अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रले माक्र्सवादको निर्माण र विकासमा एंगेल्सको महत्वपूर्ण भूमिका रहेको बताएको छ ।
फ्रेडरिक एंगेल्सको २०० औं जन्म जयन्तीको महत्वपूर्ण दिनमा अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रले एक विज्ञेप्ती जारी गरेर यस्तो बताएको हो ।
अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा जारी एक विज्ञेप्तीमा कम्युनिस्ट घोषणापत्रको प्रकाशनलगायत थुप्रै काममा एंगेल्सले महत्वपूर्ण भूमिका निभएको बताइएको छ ।
विज्ञेप्तीको पूरा पाठ –
सर्वहारा वर्गका महान् नेता तथा गुरु फ्रेडरिक एंगेल्सको स्मृतिमा :
फ्रेडरिक एंगेल्स वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल माक्र्सका अनन्य मित्र र सहयोगी हुनुहुन्थ्यो । उहाँको जन्म सन १८२० नोभेम्बर २८ का दिन जर्मनीको राइन शहरको बर्मेनमा भएको थियोे ।
सन १८४२ माक्र्सको एंगेल्ससंग भेट भयो र उहाँहरु बिच जीवनभर अटुट मैत्री कायम रहयो ।
माक्र्स र एंगेल्स एउटा गुप्त संगठन ‘कम्युनिस्ट लिग’ मा सामेल हुनु भयो र त्यसको दोस्रो काँग्रेस (नोभेम्बर १८४७ लण्डन) मा भाग लिनु भयो । यसै कम्युनिस्ट लिगको निर्णय अनुसार माक्र्स र एंगेल्सले ‘कम्युनिस्ट घोषणापत्र’ तयार पार्नु भयो र त्यो सन १८४८ मा प्रकाशित भयो ।
कम्युनिस्ट घोषणापत्रको प्रकाशन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा युगान्तकारी ऐतिहासिक परिघटना थियोे ।
१४ मार्च १८८३ मा माक्र्सको लण्डनमा देहान्त भयो । माक्र्सको निधन पश्चात् एंगेल्सले ‘पुँजी’ को सम्पादन गर्नु भयो र तिनका बाँकी खण्डहरुलाई प्रकाशित गर्ने व्यवस्था मिलाउनु भयो । माक्र्सको सहयोगमा एंगेल्सले १८७८ मा ‘ड्यूहरिङ्ग मतखण्डन’ जस्तो गहन सैध्दान्तिक कृति लेख्नु भयो । माक्र्स पश्चात् एंगेल्स ‘परिवार , निजी सम्पत्ति र राज्यको उत्पत्ति’, ‘लुडविक फायरवाख तथा क्लासिकल जर्मन दर्शनको अन्त्य’ जस्ता महत्वपूर्ण कृतिहरु लेख्नु भयो ।
माक्र्सवादको निर्माण र विकासमा एंगेल्सको महत्वपूर्ण भूमिका रहयो । एंगेल्सले माक्र्सका निम्ति आर्थिक सहयोग मात्र गर्नु भएन , विचारधारात्मक सहयोग पनि गर्नु भयो । माक्र्सका विचार र शिक्षाहरुलाई माक्र्सवादका रुपमा नामाङ्कन गर्ने विशिष्ट काम पनि एंगेल्सबाट नै सम्पन्न भयो ।
सन १८८९ मा एंगेल्सले आफ्नै नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको गठन गरेर नेतृत्व समेत गरेर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण सहयोग गर्नु भयो ।
सन १८९५ अगस्त ६ का दिन एंगेल्सको निधन भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा माक्र्स र एंगेल्सको मैत्री एक अद्वितीय परिघटना थियो ।यसरी आज फ्रेडरिक एंगेल्सको २०० आौ जन्म जयन्तीको महत्वपूर्ण दिन हो । यश ऐतिहासिक दिनमा हाम्रो विश्वभर क्रियाशील लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्रले महान् एंगेल्सका योगदान र शिक्षाहरुको सम्मान र स्मरण गर्दै उहाँप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दछ ।
मिति : २८ नोभेम्बर २०२०
हस्तबहादुर केसी
अध्यक्ष
अन्तर्राष्ट्रिय लेखक र पत्रकार केन्द्र
केन्द्रीय कार्यालय , काठमाडौं , नेपाल







