सत्ताधारी नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रस्ताव कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको आरोप लगाएका छन् ।

शनिवार सचिवालय बैठकमा पेश गरेको जवाफी प्रतिवेदनमा ओलीले दाहालको प्रतिवेदनलाई बैठकमा छलफल या परामर्श गर्नका लागि रित नपुगेको भन्दै खारेज गर्न माग गरेका छन् ।

दाहालले आफूमाथि लगाएको आरोप झुटो भएको भन्दै ओलीले उक्त आरोप पुष्टी गर्न चुनौति दिदै भनेका छन्– ‘कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।’

दाहालले देश र जनताका लागि त्याग गर्न गरेको आग्रहको जवाफमा ओलीले आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचन पश्चात् प्रधानमन्त्री नबन्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिवेदनमा ओलीले दाहाललाई अपादर्शी र छल गर्ने व्यक्ति भनेर आरोप लगाएका छन् । आफूलाई पायक पर्नेबित्तिकै अल्पमत र बहुमत कुरा गर्ने गरेको आरोपसमेत ओलीले दाहालमाथि लगाएका छन् । दाहाल अपारदर्शी र छलछाममा केन्द्रित भएको भन्दै ओलीले मन लागे पार्टी विघठन गरेर नयाँ दल गठन गर्न वा राजनीति नै त्याग्न सुझाब दिएका छन् ।

प्रतिवेदनको ९ बुँदामा ओलीले उल्लेख गरेका छन्, ‘’भत्काउने– बनाउने– फेरि भत्काउने‘ यस्तो विषयलाई गर्वको विषय बताउनु हुन्छ । अझ थप, दिक्क लाग्यो भने, राजनीति छाड्न पनि पाइन्छ । विश्राम लिन पनि पाइन्छ ।”

ओलीले दाहालसँग ‘गम्भीर आत्मसमीक्षा’ र ‘आत्मालोचना’ गर्न माग गरेका छन् । आफूमाथि लगाएका आरोप पुष्टी गर्न नसके परिणाम भोग्नका लागि तयार हुन ओलीले दाहाललाई चेतावनी दिएका छन् ।

ओलीले अर्का अध्यक्ष दाहालको प्रस्तावको जवाफमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् । ओलीको प्रस्तावमा ५३ बुँदा समेटिएको छ । कात्तिक २८ गते बसेको सचिवालय बैठकमा दाहालले ओलीलाई ७ बुँदे पत्र र १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार