सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा शर्तसहित आफू अध्यक्ष पद छाड्न तयार रहेको बताए ।

नयाँ पुस्तालाई पार्टीको नेतृत्व हस्तान्तरण गर्ने शर्तमा उनले अध्यक्ष पद छाड्न तयार रहेको बताएपनि प्रधानमन्त्री पद छाड्ने विषय कतै उल्लेख गरेनन् । ओलीको भनाईले उनी प्रधानमन्त्री पद जोगाउन अन्तिम विकल्पमा अध्यक्ष पद छाड्न तयार रहेको देखिएको छ ।

यतिबेला सत्ताधारी नेकपाभित्र पूर्व एमाले समूह आपसी एकता बनाउन सक्रिय भइरहेको छ । दोस्रो पुस्ताका नेताहरु प्रधानमन्त्री ओली, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग दैनिकजसो भेटघाट गरेर पूर्व एमालेबीच सहमतिको बिन्दु खोज्न सक्रिय भएका छन् । ओली र प्रचण्डबीच सहमतिको सम्भावना निकै कमजोर भएपछि पूर्व एमाले समूह आपसी एकता गरेर पार्टी एकता कायमै राख्ने सुत्र खोज्दैछन् ।

सचिवालय सदस्यहरु इश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थानीय समिति सदस्यहरु सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई, भानुभक्त ढकाललगायतका नेताहरुको दौडधुप चलि नै रहेको छ । उनीहरु सहमतिको बिन्दु खोज्न लागिपरेका छन् । जसरी भएपनि पूर्व एमालेबीचको एकता कायम गराउन लागिपरेकाहरुले ओलीलाई एक पद छाड्न लगाएर छाडेको पदमा पूर्व एमालेकै कुनै नेतालाई ल्याउनेबारे समेत छलफल गरेका छन् ।

विश्वस्त स्रोतका अनुसार सत्ताधारी नेकपाभित्रका प्रभावशाली दोस्रो पुस्ताका नेताहरु ओलीलाई प्रधानमन्त्रीमा पूरा कार्यकाल काम गर्न दिएर अध्यक्षमा माधवकुमार नेपाललाई ल्याउने विकल्पमा समेत छलफल चलेको छ । त्यस्तो अवस्थामा नेपालको पनि व्यवस्थापन भई सहमति बन्ने सम्भावना बढ्ने उनीहरुको बुझाई छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार