मान्छेहरु जब विधि र तर्कसँग हार्छन्, अनि पाखुरा उचाल्छन् । घोक्रो फुलाउँछन् । असान्दर्भिक लाञ्छनामा उत्रिन्छन् । अहिले सत्ताधारी नेकपामा त्यही भइरहेको छ ।

खासगरी सत्ताधारी नेकपाका द्वितीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो अवस्थामा पुगेका छन् । पार्टीले आउँदो चैतमा महाधिवेशन गर्ने भनेको छ । महाधिवेशन नै पार्टीको नयाँ नेतृत्व चयनदेखि वैचारिक मुद्दाहरुको छिनोफानो गर्ने अन्तिम र सबैभन्दा शक्तिशाली निकाय हो ।

तर, चार महिना कुर्ने धैर्यता प्रचण्डसँग छैन । अझ भनौँ, जब महाधिवेशन नजिक आउँदै छ, त्यति धेरै छटपटाहट प्रचण्डमा बढिरहेको छ । जसरी हुन्छ, महाधिवेशन टार्ने, माहोल धमिल्याउने र त्यही धमिलोमा माछा मार्ने सुर प्रचण्डमा देखिन्छ ।

प्रचण्डले गत वर्षको मंसिरमा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका हुन् । यसको अर्थ उनी एक वर्षदेखि पार्टी कामका निम्ति जिम्मेवार छन् । समायोजन हुन बाँकी संगठनलाई समायोजन गर्नेदेखि सबै तहका संगठनलाई पुनःजीवन दिएर महाधिवेशन प्रतिनिधिको छिनोफानो यतिखेरसम्भ भइसक्नुपथ्र्यो । गएको भदौमा त उनलाई तोकेरै यसैको जिम्मा दिइएको थियो ।

तर, तोकिएको जिम्मेवारी पूरा नगरी उनी पार्टीभित्र हुँडलो मच्चाउन थाले । पार्टीका अरु अतृप्त आत्माहरुको सहयोग लिएर प्रधानमन्त्री एवं केपी शर्मा ओलीसामु झुत्ती खेल्न लगाउन पुगे । अहिले पनि प्रचण्ड ओलीलाई सरकारका काम पनि राम्रोसँग गर्न नदिने, पार्टीमा पनि उनलाई समस्याग्रस्त अवस्थामा पुर्याउने एकसूत्रीय चलखेलमा लागेको देखिन्छ ।

निर्वाचन क्षेत्रमा गयो, जनाधार छैन । पार्टी कार्यकर्तामाझ गयो, आस्था र विश्वास छैन । अन्तर्राष्ट्रिय समुदायमा गयो, दागपूर्ण विगत । बौद्धिक तप्कामाझ झनै उनको छवि सन्दिग्ध र संशयपूरर्ण । सबैतिरबाट हार खाए पनि शक्तिको भोकसँग हार खाएका छैनन् । त्यसैले जसरी हुन्छ, मलाई त्यही केटी चाहियो भन्ने शैलीमा अहिले नै, यत्तिखेर नै उनलाई प्रधानमन्त्री र अध्यक्षको कुर्सी चाहिहालेको छ ।

प्रचण्डको हठ हेर्दा लाग्छ, उनको शक्तिको आकण्ठ आकांक्षाका सामु पार्टीका सबै विधि विधान निष्क्रिय बन्नुपर्छ । पार्टीका कार्यकर्ताहरुको विवेकमा ताला लगाउनुपर्छ । संविधान र कानुन समेत उनीबाहेक अरुलाई मात्रै लाग्नुपर्छ ।

एउटा जिम्मेवार र लोकतान्त्रिक संस्कार भएको नेताले जनमत हेर्छ । कार्यकर्ताको आदेश सुन्छ । लोकलाज पनि ख्याल गर्छ । यी कुनै कुराको वास्ता नगरी जसरी हुन्छ, ओलीको शिरच्छेदन गर्ने र आफू शक्तिको आसनमा विराजमान रहने एक मात्र धोको प्रचण्डमा देखिन्छ । जुन आजको दुनियाँमा असम्भवप्रायः छ । अझ नेकपाको संगठनमा झनै सम्भव छैन ।

नेकपाको संगठनमा कोतपर्व मच्चाएर आफू स्थापित बन्ने प्रचण्ड चाहना किन पनि सम्भव छैन भने पूर्वएमालेको लोकतान्त्रिक अभ्यासमा खारिएको संगठनले यस खालका ‘कू’हरुलाई मान्यता दिन सक्दैन । आज ओलीका कतिपय कार्यशैली र उनका वरिपरि रहेका स्वार्थ समूहका प्रतिनिधिहरुका गतिविधि मन नपरेर आलोचना गर्नु एउटा कुरा हो, विधि र संगठन नै नास्ने बेग्लै कुरा हो । त्यसकारण जस्केलाबाट छिरेर नेकपा र देशकै सत्ता कब्जा गर्ने प्रचण्ड मनोकांक्षा कमजोर धरातलमा हुर्किएको पाइन्छ ।

प्रचण्डको आफ्नै दागपूर्ण विगत, अविश्वसनीय छवि अनि ध्वसांत्मक सोचका कारण कसैबाट पत्याउन सम्भव छैन । ओलीसँग व्यक्तिगत प्रतिशोध भएका र मन्त्री नपाएर छटपटाएका केही अतृप्त आत्माहरुको गठजोडसामु ओली अल्पमतमा परे भन्दैमा आम कार्यकर्ता र जनमत उनको विपक्षमा गइसक्यो भन्न मिल्दैन । अझ ओलीले पाँच वर्षका लागि पाएको जनादेश पनि सकिइसकेको छैन । बरु पाँच वर्ष पनि कुर्न नसकेर छटपटाइरहेकाहरुले बुनेका षड्यन्त्रका अनेकन शृंखला पार गर्दै आजको दिनसम्म ओली उच्च स्वाभिमान र स्वाभिमान र मनोबलका साथ पार्टीभित्र र बाहिर, देशभित्र र बाहिरबाट भइरहेका चलखेललाई परास्त गर्न सक्षम भएका छन् । नेपालको अस्थिरतापूर्ण राजनीतिक इतिहास लेखिरहँदा दुई तिहाई बहुमतको प्रधानमन्त्रीले झेलेका पाइलैपिच्छेका असहयोग र जालझेलका कथा भावी पुस्ताका निम्ति पनि निकै रोचक र घोचक हुनेछन् ।

अहिलेलाई अब एउटा परिदृश्य के स्पष्ट भयो भने जनता र कार्यकर्तासँग डराएको र महाधिवेशनबाट भाग्न चाहेको नेतासँग कम्तीमा केपी ओली झुक्ने र डराउने कुरै छैन । पराजित मानसिकताका साथ युद्धमा होमिएका प्रचण्डहरुको पराजय निश्चित भएको छ । र, सम्भवतः ओलीमाथिको यो प्रहार नै अन्तिम हुनेछ । किनभने, अब ओलीमाथि औँला उठाउने नैतिक र राजनीतिक बल सम्पूर्णतः दाहाल खेमाले गुमाइसकेको छ ।

वर्ण मिडियाका लागि नारायण दाहालले गरेको विश्लेषण ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार