
सत्ताधारी नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोही पनि नडराउने बताएका छन्।
‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन,’ नेता नेपालले भने।
फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा बोल्दै नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिई उनीप्रति कटाक्ष गर्दै सो धारणा व्यक्त गरेका हुन्।
सत्तारुढ दलका शीर्ष नेताहरुबीच तिक्तता चुलिएका बेला नेपालले सो प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै धम्की नदिन चेतावनी दिएका हुन्।
सो कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने पनि बताए। नेता नेपालले सधैँभर बैठक लब्म्याउँदा पार्टी र सरकार दुवै बदनाम भैरहेको र अहिलेको अवस्था कायम रहे पार्टी समाप्त हुने बताए।
‘आज पनि बैठक बसेका थियो। पार्टी अध्यक्ष कमरेड व्यस्त हुनु भएकाले केही समय दिउँ भन्ने कुरा भयो। तर यो अनन्तकालसम्म लम्ब्याउने काम गर्नु हुदैन,’ नेता नेपालले भने, ‘सधैभरी लम्ब्याउँदै जादा पार्टी जनतामा बदनाम भैरहेको छ, सरकार अलोकप्रिय भैरहेको छ, पार्टी नामको चिज कागजमा सिमित छ। यो मृतप्रायः अवस्थामा पुगेको छ।’







