
सत्ताधारी नेकपामा अध्यक्ष द्धय केपी र प्रचण्ड आफ्नो अडानमा टसमस नभएपछि अब दुबैं समुह एक अर्कालाई कार्वाहीको डण्डा चलाउने स्थितिमा पुगेको बताइएको छ ।
ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पद नत्याग्ने स्पष्ट पारेको बुझिएको छ । उनले झन आक्रामक तयारीहरु गर्न थालेका छन् । प्रचण्डले पनि पटक पटक सहमति गर्दा पनि उल्लंघन गरेकाले अब पार्टी बैठकबाट टुंगो लगाइने बताए । उनी पनि ओलीविरुद्ध आक्रामक तयारीमा लागेका छन् । अब भोलि बस्ने सचिवालय बैठकले थप कदम चाल्ने गरी प्रचण्ड अगाडि बढेका छन् ।
राष्ट्रपति भण्डारीले ओली र प्रचण्ड दुवैलाई राखेर कुराकानी गर्न खोजेको बुझिएको छ । तर, संवाद गर्न दुवैले चाहेका छैनन् । संवादको साटो दुवै नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका मात्र छैनन् पार्टीभित्र बोलेका गम्भीर विषयहरु पनि छरपष्ट पार्न थालेका छन् । जङ्गलमा दुई शेरको शैलीमा जर्बजस्ती साँढे दुई वर्ष नेकपाभित्र अध्यक्ष रहेर बस्न सकेका ओली र प्रचण्ड अन्तत वारपारको अवस्थामा पुग्ने गरी जुध्न थालेका छन् ।
बुधबार तय भएको सचिवालय बैठकमा ओली गएनन् । त्यसपछि २० मिनेट बसेर २० मसिरसम्म अल्टिमेटम दिने र बैठक डाकेर निर्णय लिने गरी सचिवालय सदस्यहरु उठे । हिजो बस्ने तय भएको स्थायी कमिटी बैठक पनि २१ गतेलाई सरेको छ । नेताहरुले आ आफ्नो तयारी गर्ने भएका छन् ।
ओली कुनै हालतमा बैठकमा नजाने र नगएमा प्रचण्ड पक्षले कठोर निर्णय लिने तयारी भएको छ । ओलीले मङ्गलबारको सचिवालय बैठकमा प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिइसकेका छन् । यसले दुवै अध्यक्ष वारपारको लडाईमा उत्रिएको स्पष्ट भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको छुट्टाछुट्टै आरोप प्रत्यारोपले भरिएको प्रतिवेदनमाथि छलफल अगाडि बढ्दा नयाँ परिस्थिति विकास भइसकेको छ । अब लिखित आरोप मौखिक हुँदै एक अर्कामाथि कारबाहीको निर्णयसम्म पुग्ने छाँटकाँँँट देखिएको छ । ओलीले प्रचण्डमाथि अध्यक्षबाट हटाएको निर्णय लिने तयारी गरेका छन् । प्रचण्डले पनि पार्टी कमिटीबाट ओलीलाई सरकारबाट फिर्ता बोलउने र अध्यक्षबाट पनि हटाउने तयारी गरेका छन् ।
अब मंसिर महिनाभित्र यस्तो निर्णय आएमा आश्चर्य नमाने हुन्छ । ओलीले प्रचण्डमाथि कारबाही गर्ने ठाडै भनिसकेका छन् । उनले विगतमा प्रचण्डमाथि युद्धअपराध गरेको, विदेशीको इशारामा गिरिजाप्रसाद कोइराला र माधवकुमार नेपाललाई धोका दिएको जस्ता गम्भीर आरोप लगाएका छन् । यसरी ओली झन् कडा तयारीका साथ बढेका छन् ।







