
पार्टी एकता गर्दा जसरी ओलीले प्रचण्डलाई विश्वासमा लिएका थिए, एकतापछि त्यो विश्वास किन कमजोर, धराशायी बन्दै गयो ? ओली किन स्वेच्छाचारी बन्दै गए ?
केपी ओलीको स्वभाव के भने मिल्दा, कन्भिन्स हुँदा ज्यान गएको नै पत्तो नपाउने ! तपाईं–हामीलाई थाहा छ, ओलीले ठूलो छाती देखाएकै हो नि । सबै कुरा छाडेको होइन ? ३० प्रतिशत मत ल्याएको पूर्वमाओवादी केन्द्रलाई सभामुख दिन तयार भए । उपराष्ट्रपति दिए । पार्टीको आधारभूत तहका कमिटीसम्म ६०–४० को अनुपातमा एकता गर्न तयार भए । जनसङ्गठनहरूमा पनि त्यही आधारमा एकता भयो ।
एमालेले बोक्दै आएको जनताको बहुदलीय जनवाद संसार प्रशिद्ध सिद्धान्त हो । एमालेले मात्र होइन, जनताले प्रमुख प्रतिपक्षले पनि स्वीकार गरेको क्रान्तिको कार्यक्रम थियो त्यो । त्यसलाई पनि थाती राखेर एकताका लागि जनताको जनवादमा सम्झौता गर्ने विन्दुमा पुगे ।
यसबाट पनि के बुझ्नुपर्छ भने एकताका लागि त्याग गर्नुपर्छ भन्ने सन्देश ओलीले दिएकै हुन् ।
यहाँलाई सम्झाउँ– एमालेभित्र माधव नेपाल पराजित शक्ति हुन् । नवौँ महाधिवेशनको हलले केपी ओलीलाई पार्टी अध्यक्षमा जिताएको होइन ? आन्तरिक प्रतिस्पर्धामा पराजितलाई भाग दिनुपर्छ भन्ने त कहीँ छैन । तर, ओलीले एमालेभित्र शक्ति सन्तुलन मिलाउन झण्डै बराबर हिस्सा माधव नेपाल समूहलाई दिँदै आए ।
हामीले त्यतिबेलै ओलीलाई सम्झाएका हौँ– तपाईंले किन कुरा नबुझेको ? राजनीति हो । माधव नेपाललाई दिएको यो बराबरी कुनै पनि बेला तपाईंकै विरुद्ध प्रयोग हुन सक्छ । अहिले पार्टीमा तपाईंको जुन कमान्ड छ, विस्तारै त्यो खुस्किन सक्छ । माधव नेपाल समूह उता (प्रचण्डसँग) मिल्यो भने के हुन्छ ? उनीहरू ७० मा पुग्छन् । तपाईं ३० मा खुम्चिनुपर्छ ।
सचिवालयकै शक्ति सन्तुलन हेरौँ न, ९ सदस्यीय सचिवालयमा आफू अल्पमतमा छु भन्ने ओलीलाई थाहा नभएको हो र ? तर, एकता गर्दा उनलाई बढी नै आत्मविश्वास थियो होला । सबैलाई विश्वासमा लिन सक्छु, कन्भिन्स गर्न सक्छु भन्ने हुँदो हो ।
आज त्यसैले उहाँलाई ठूलो धोका दियो ।
यसर्थ केपी ओली स्वेच्छाचारी बन्दै गएको, एकलौटी चल्न खोजेको हुँदै होइन । कुनै पनि तथ्यले यसको पुष्टि गर्न सक्दैन ।
माधव नेपाल पराजित शक्ति भए पनि उनलाई सम्मानजनक र बराबरी नै हिस्सा दिइएको भन्ने यहाँको जिकिर छ, तर उहाँले त आफूलाई निकै अपमानित, किनाराकृत महसुस गर्दै आउनुभएको छ, पटकपटक, किन ?
माधव नेपालको प्रवृत्ति नै अचम्मलाग्दो छ । उहाँ सिद्धान्तमा एउटा कुरा गर्नुहुन्छ, व्यवहार त्यसभन्दा ठीक विपरीत हुन्छ । केपी ओली र माधव नेपाल एउटा पहिलो नेता हुने, अर्को दोस्रो नेता हुने भनेर सहमति गरेर आएको हो र ? महाधिवेशनमा ओली र नेपालबीच प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्ने, हुने सिद्धान्तमाचाहिँ सहमत हुने, परिणामचाहिँ नस्वीकार्ने ! यस्तो पनि कहीँ हुन्छ ? जितेको मानिसलाई काम गर्न दिनुपर्यो, हार्नेले त जित्नेको नेतृत्व स्वीकार गर्नुपर्यो नि !
तपाईंलाई भनूँ– माधव नेपालसँग सिद्धान्तको कुरा छैन । दर्शनको कुरा छैन । राजनीतिको कुरा छैन । मुलुक कसरी चलाउने भन्ने कुरा छैन । पार्टी–सङ्गठन कसरी चलाउने भन्ने छैन । केपी ओलीको ठाउँमा माधव नेपालले जितेको भए पार्टी एकता नै हुने थिएन । एकीकरणका लागि आँटेर जानसक्ने उहाँको क्षमता नै छैन । त्यसकारण माधव नेपालले विधि, विधानको कुरा गरेर जनतालाई भ्रमित तुल्याइरहनुभएको छ । त्यो झुटो कुरा हो ।
साविक एमालेको विधानले पास्ट प्रेसिडेन्ट (पूर्वअध्यक्ष)लाई वरिष्ठ नेता मान्छ । पार्टी एकताले पनि स्वीकार गर्ने कुरा यही हो । पार्टी एकता गर्ने वेला केपी ओलीले झलनाथ खनाल होइन, तपाईं वरिष्ठ नेता हुनुस् भन्दा नेपालले स्वीकार गरेको होइन ? विधिले त झलनाथ नै वरिष्ठ नेता हुने होला नि । तर, नेपालको विधिले आफैँलाई वरिष्ठ नेता बनायो । पछि उल्ट्याउनुपर्छ भन्ने हामी नै हौँ ।
अहिलेकै कुरा गरौँ न, आरोप पत्र पनि कहीँ पार्टीको प्रस्ताव, कार्यसूची हुन्छ ? प्रतिवेदन मान्न सकिन्छ ? मान्नै पर्ने भए दुईजना अध्यक्षको सहमतिमा मान्नुपर्ने होला नि । यसमा माधव नेपालको के मत छ ? उहाँले ओलीको सहमति नभए पनि प्रस्ताव मान्नुपर्छ भनिरहनुभएको छ । यसर्थ नेपालको भन्ने एउटा कुरा, गर्ने अर्को कुरा हो ।
सत्ताधारी नेकपामा केपी ओली समुहका नेता मानिने पृथ्वी सुब्बा गुरूङसँग बाह्रखरी अनलाइनले गरेको कुराकानीको छोटो अंश ।







