
गृहमन्त्रीको बागडोर सम्हालेपछि ०७४ चैत ७ मा उनले महानगरीय प्रहरी वृत सिंहदरबारस्थित ‘जवान मेस’मा सिपाही–हवल्दारसँग खाना खाँदै भने, ‘सिनियर प्रहरी अधिकृत र तल्लो दर्जाको बीचमा रहेको रासन विभेद हटाउँछु ।’ तर, सिपाही–हवल्दारलाई दिएको बचन ‘बादल’ले झण्डै ३ वर्ष बित्दा पनि पूरा गरेका छैनन् ।
०७४ फागुन १६ मा नक्सालस्थित प्रहरी हेड्क्वार्टर निरीक्षण कार्यक्रममा बादलले भनेका थिए– नेपाल प्रहरीलाई विश्वकै नमुना बनाउँछु । तर केही आपराधिक घटनामा अपराधी पत्ता लगाउन नसक्दा प्रहरीको छवि धमिलिएको अवस्था छ ।
गृह मन्त्रालयको बागडोर सम्हालेको पहिलो ईनिङमा ‘बादल’ले राम्रो सुरुवात गरे । त्यतिबेला उनले उठाएको आशालाग्दो कदम थियो– सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणमा कठोर निर्णय ।
चुडामणि उप्रेती ‘गोरे’ ले त्रिभुवन विमानस्थलबाट पास गराएको ३३ किलो सुन ‘गायब भएको’ निहुँमा मोरङको उर्लाबारीमा सनम शाक्यको हत्या भयो । ०७५ फागुन १८ मा भएको सो हत्यामा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीसहितका अधिकृतले ‘आर्थिक मोलाहिजा’ गरेको सुराक पाएपछि थापा कठोर बने ।
छानविनका लागि उच्चस्तरीय समिति बनाउन मन्त्रिपरिषद्मा त्यतिबेला थापाले नै प्रस्ताव गरे । पहिले डिआईजी पुष्कल रेग्मी र ०७४ चैत २० मा सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बन्यो ।
सहसचिव पौडेल नेतृत्वको समितिलाई गृहमन्त्री ‘बादल’ ले सुप्रिम पावर दिए, कुनै हस्तक्षेप गरेनन् । त्यसपछि ‘बादल’ प्रतिको जनविश्वास ह्वात्तै बढ्यो । जनताले भन्न थालेका थिए– वाह, बादल !
‘नेपालमा तस्करी र दुई नम्बरी धन्दा बढेको छ, हुण्डीबाजहरुसँग पैसाको गोदाम छ !’ भाषणमा उनी गर्जन्थे, ‘कारागारको कैदीलाई मध्यरात ठमेलको दोहोरी साँझमा घुमाउने गरेको रिपोर्ट पाएको छु ।’
हुण्डीबाजहरुसँग पैसाको गोदाम रहेको सूचना पाएको बताएका थापाले त्यस्ता हुण्डीबाज र माफियामाथि कहिल्यै एक्सन लिन सकेनन् । अनि, विस्तारै उनको बोलीमाथि प्रश्न उठ्न थाल्यो ।
निकटस्थहरुले ‘बोली कन्ट्रोल’ गर्न सुझाएपछि भने उनी बोल्नै छाडे । अचेल ढुंगो बोल्ला तर ‘बादल’ बोल्दैनन् । मन्त्रालयमा र पुल्चोकस्थित सरकारी निवासमा उनलाई भेटेर फर्कनेहरु भन्छन्– उहाँ बोल्नुुहुन्न ।
गृहमन्त्रीलाई मुलुकका ८ सय ५० भन्दा बढी प्रहरीका युनिटमा शौचालय नभएको रिपोर्ट गरिन्छ । तर, उनी चुपचाप ‘अँ–अँ’ भन्दै मुन्टो हल्लाउँछन् । प्रतिक्रिया दिँदैनन् ।
आफ्नो विभागमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले हस्तक्षेप गरिरहेको उनलाई थाहा छ । तर, जनयुद्धताका ‘बाघ’ जस्ता गर्जिने ‘बादल’ अहिले निरीह छन् ।
कोरोना महामारीको जोखिम सुरु भएपछि गृह मन्त्रालयले गर्नुपर्ने काममा ईश्वर पोखरेलले नेपाली सेनालाई अगाडि सारेर हस्तक्षेप गरे । आफु मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यक्षेत्रमा पर्ने काममा रक्षा मन्त्रालयले हस्तक्षेप गर्दा पनि बादल बोल्न सकेनन् ।
कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी)मा गृहमन्त्रीलाई कुनै भुमिका नै दिइएन् । तर पनि उनी चुपचाप बसे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयमा केपी शर्मा ओली गुटमा रहेका ‘बादल’ कसरी मन्त्री पद जोगाउने भन्ने चिन्तामा छन् । प्रधानमन्त्री ओलीलाई खुसी पार्न शनिबारको सचिवालय बैठकमा पार्टीभित्रको समस्या समाधान गर्न उनले कार्यदल बनाउने प्रस्ताव गरे । तर, सो प्रस्तावमा उपाध्यक्ष बामदेव गौतमले असहमति जनाए ।
पार्टीको सचिवालय सदस्य भए पनि उनको भूमिका प्रभावकारी देखिएको छैन । पार्टीभित्र यति ठुलो विवाद हुँदासमेत उनी मुकदर्शक बनेर बसिरहेको कार्यकर्ताहरु नै बताउँछन् । स्रोतका अनुसार उनी अध्यक्षद्वयबीचको द्वन्द्वमा आफ्नो फाइदा कसरी हुन्छ भन्नेमा मात्र केन्द्रित देखिएका छन् । ४४१ सदस्यीय नेकपाको केन्द्रीय कमिटीमा आफूसहित तीन सदस्यको छुट्टै र सीमित दायरा बनाएका बादलले न पार्टीभित्रको भूमिका बढाउन सके, न सरकारमा रहेर प्रभावकारी काम गर्न सकेको देखिन्छ ।
‘बादल’ मन्त्रालय जान्छन्, प्रशासनिक काम गर्छन् र फर्कन्छन् । गृह मन्त्रालयका एकजना अधिकृतले रातोपाटीसँग भने, ‘सामान्य भेटघाट गर्नुहुन्छ, तातोपानी पिएर फर्कनुहुन्छ ।’







