प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक त्यागका धेरै कुरा गरेका छन् । उनले पार्टीभित्रको विवाद समाधान गर्नेतिर भन्दा देश विकासको निकै चिन्ता भएको कुरा व्यक्त गर्दैगर्दा म जर्ज अरेवलको राष्ट्रवादसम्बन्धी आलेखको भावांश सम्झिरहेको थिएँ । उनले भनेका थिए, जबजब मानिसले राष्ट्रवादका चर्का कुरा गर्न थाल्छ, बुझ्नुस् ऊ कुन स्वार्थको मिसनमा राष्ट्रवाद घोलिरहेको छ । मानिसलाई सजिलै दिमाग शून्य बनाउन सकिने विषय भनेकै राष्ट्रवाद हो । कसैले धर्मको विष घोलेका हुन्छन् । कसैले उनीहरुको दिमाग शून्य बनाएर उनको विचार परिवर्तन गर्नका निम्ति यस्ता अस्त्रहरु फ्याँकिरहन्छन् ।

मलाई पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको त्याग स्वयंमा एउटा अस्त्र मात्र हो जस्तो लाग्छ । किनभने, त्यागीले त्याग गरिहाल्छ । सन्यासी, योगीहरु कुनै धुमधाम तयारीबिना घर त्यागी दिन्छन् । पार्टीभित्रको यत्रो कमाण्डर, देशको सर्वशक्तिमान दुईतिहाइको प्रधानमन्त्रीबाट यति सजिलै त्याग हुने कुरा कसैले पनि पत्याएकै छैन । पत्याइहाल्ने कुरा पनि होइन । ओलीले त्याग गर्ने भए प्रचण्डसँग पार्टी एकता गर्दा गरेको सहमति कार्यान्वयन गर्थे । सहमतिप्रति उनी इमान्दार भएको भए, त्यसको पालना गर्थे । त्याग भाषणमा होइन, व्यवहारले देखाउने कुरा हो । पछिल्लोपटक ओलीले त्याग शब्दको जसरी दुरुपयोग गरेका छन्, त्यसले उनी ढोंगी हुन् भन्ने प्रमाणित गर्छ ।

ओलीको यो ढोंग पार्टीभित्रको समस्यालाई समाधान गर्ने होइन, मानिसहरुलाई अलमलमा पारेर अघि बढिरहने रणनीति हो । अहिले पछिल्लो समय नेकपाका शीर्ष नेताको विवादको जड पनि ढोंग नै हो । प्रधानमन्त्री ओली स्थायी समितिको वैठकमा जे जसो निहुँ बनाएर अनुपस्थित भए पनि पत्र प्राप्त भएपछि त्यो उपस्थिति बराबर नै हो भन्ने कुरा त बैठक सञ्चालन भएपछि आफैँ पुष्टि भयो । तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीजस्तो जिम्मेवार नेता स्थायी कमिटी बैठकमा अनुपस्थित हुनु गैरकम्युनिष्ट चरित्र हो । कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि लगाएका आरोपहरुको प्रतिवाद ओलीले स्थायी कमिटीको बैठकबाट गर्नुपर्ने थियो । किनभने, कम्युनिष्ट पार्टी भनेको विधि, विधान र पद्धतिसम्मत ढंगले चल्ने अनुशासित पार्टी हो । त्यही पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बहिष्कार गर्दै जान्छन् भने, त्यो पार्टी विधिसम्मत ढंगले कसरी चल्छ ? अनि ओलीले पार्टीको विधि विधान मान्नु नपर्ने, अन्यले किन मान्नुपर्ने भन्ने प्रश्न पनि उठ्न सक्छ । यस्तो कुराले एउटा विशाल कार्यकर्ता भएको सांगठनिक पार्टी अराजकहरुको भीडमा परिणत हुनसक्छ । यसतर्फ हरेक कम्युनिष्ट नेता, कार्यकर्ता सचेत हुनुपर्छ ।

लक्ष्मण देवकोटा

शक्तिमा हुनु र नहुनुमा धेरै फरक हुँदो हो । तर, शक्ति सन्तुलनका दृष्टिले आफ्नै वरपरको शक्तिलाई समेत सन्तुलनमा राख्न सक्ने काम असल नेतृत्वको विशिष्ट गुण हो । चरम उग्रता र उत्तेजनाका कुरा गर्नेहरु राजनीतिमा क्षणिक भएका पनि देखिएको छ । खासगरी नेपालको वामपन्थी इतिहासमा । विवादको उत्कर्षमा पुगेको नेकपाभित्रको यो खिचलो कुनै न कुनै रुपमा मिल्ला । तर, यो खिचलोको मूल कारक विचारमा आएको विचलन हो, नीति सिद्धान्त र संगठनमा आएको ह्रास हो ।

अहिले एकथरि मानिसहरु सबै दोष प्रचण्डको टाउकामा हालेर आफूहरु पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् । तिनै मानिसहरु तल्लो तहसम्म मदन भण्डारी फाउण्डेशनको नाममा पूर्व एमालेहरुलाई एकीकृत गर्नको निम्ति गुप्त भेला र सत्ताको चरम दोहन गरिरहेका छन् । हिजो काँग्रेसका केही गुटगत नेताहरुले सत्ताको चरम दुरुपयोग गर्दै आफ्ना कार्यकर्तालाई गुटगत हिसाबले एकीकृत गर्न राज्यको दोहन गरेका थिए । मदन भण्डारी फाण्डेशनको व्यानरमुनि विभिन्न कार्यक्रम गरेर जनताको बहुदलीय जनवादको एकोहोरो नारा लगाउनमा भर्खरका युवा जो विचारले भन्दा भावनाले बढी उत्तेजित छन् ।

मैले माथिको सन्दर्भ किन जोडेको हुँ भने आफूलाई मदन भण्डारीको सच्चा अनुयायी दाबी गर्ने प्रधानमन्त्री ओली र पार्टीको सम्बन्ध जोगी र भैँसीको जस्तो छ । स्थायी कमिटीलाई रत्यौली खेल्ने ठाउँको रुपमा व्याख्या गर्ने नेताले कसरी मदन भण्डारीको स्पिरिटलाई ग्रहण गर्न सक्दछ ? आफ्ना भएपछि सातखत खुन पनि माफ, अर्को गुटको भयो भने खेदो खनेर भित्तामा पु¥याउने कामले कसरी हुन्छ वृहत्त संगठन ? आफूलाई मदन भण्डारीका अनुयायी भनेर हिँड्नेहरुबाट नै मदन भण्डारी स्वयम् र उनको विचारधाराको अपमान भइरहेको छ ।

पार्टी एकीकरणपछि संगठनभित्र सिद्धान्त, नीति र विचारका कुरा गर्नेहरु किनारमा थन्क्याइएका छन् । अहिले सबैथोक सत्ता हो र पार्टीका अध्यक्ष स्वयम् सत्ताका प्रमुख भएको हुनाले प्रधानमन्त्री ओलीलाई नै यो कम्युनिष्ट संगठन, नीति, सिद्धान्त र सबैथोक हो भन्ने खालको चिन्तनको विकास गरिएको देखिएको छ । सत्ताका विभिन्न मोर्चाहरुका मानिसहरुबाट पालित पोषितहरु सामाजिक सञ्जालमा तैनाथ छन् । उनीहरु एकछत्र महान राजनेता ओलीको जयजयगान गरिरहेका छन् । सत्ताको स्वाद पाउन्जेल यसरी जयगान गाउनेहरुले त्रिपाल ओढाइएका जनकपुरका रेलको बारेमा प्रश्न गर्नेहरु सोझै पार्टी विरोधी कित्तामा पु¥याइने खतरा छ । अलिकति पार्टीभित्रको सन्तुलन खलबलियो भने एकसे एक मैदानमा उत्रिन बटालियनहरु खटिएका छन् ।

कुनै पनि कुराको विरोध र असहमति बर्जितजस्तै छ नेकपामा । यो त जननेता मदन भण्डारीको विचारको सोझो उल्टो हो । उनका अन्तर्वार्ता र विचारहरु सुन्ने जो कोहीले पनि सजिलै भन्न सक्ने कुरा हो यो । पाँच वर्षसम्म मै प्रधानमन्त्री र महाधिवेशनसम्म मै अध्यक्ष हुँ, जे–जे मन लाग्छ गर्नुस् भनेर पार्टीका कमिटीहरुलाई कम्युनिष्ट पार्टीका अध्यक्षजस्तो जिम्मेवार नेताले चुनौती दिन मिल्छ ? के नेकपा भनेको नेपाली कांग्रेसजस्तो बुर्जुवाहरुको पार्टी हो ? के केपी ओली, गिरिजाप्रसाद कोइरालाजस्ता नेता हुन् ? कांग्रेस र कम्युनिष्टका नेताको चरित्र, गुण र व्यवहार कस्तो हुनुपर्छ भन्ने कुरा आफू उदाहरण बनेर देश र जनतालाई सिकाउनुपर्ने बेला आफैँ अराजक भएर सिंगो पार्टीलाई भड्खालोमा जाक्ने अधिकार ओलीलाई छ ? पक्कै छैन । यस्तो अवस्था आएमा लाखौं कार्यकर्ता र जनताले ओलीलाई खबरदारी गर्ने दिन आउनेछ ।

अझ अर्को रमाइलो कुरा त दस्तावेज फिर्ताको कुरामा छ । प्रचण्डले आफ्नो दस्तावेजमा फौजदारी प्रकृतिका बुँदाहरु त्यसमा समेटिएको हुनाले त्यो यथास्थितिमा रहिरहनु ओलीका निम्ति पनि धेरै किसिमले असहज कुरा हो । आफ्ना इर्दगीर्दका मानिसहरुबाट दबाब बढाएर भए पनि प्रचण्डबाट प्रस्ताव फिर्ता मात्रै गराउन सके त्यो उनलाई अलि सहज बाटो हुने थियो । तर प्रस्ताव त स्थायी कमिटीमा पुगिसक्यो । यहीँनिर पार्टीमा अर्का अध्यक्षलाई प्रस्ताव नलैजाउ भन्नु, छलफल नै नगरौँ भन्नु र सकेसम्म बहस, विमर्शलाई निस्तेज गर्नु त झन् मदन भण्डारीको चिन्तनभन्दा पूर्णत विपरीत ध्रुवको कुरा हो ।

एकोहोरो प्रचण्डलाई तीर हानेर मात्र यो समस्या समाधान हुनेछैन । ती अभियोगका बारेमा स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै महाधिवेशनसम्म पुग्नेछ । त्यसको जवाफदेही ओली हुनुपर्ने छ । किनभने, ओलीलाई कार्यकर्ताहरुले भोट दिएर पार्टी अध्यक्ष चुनेका हुन् ।

दृष्टिमा व्यक्त विचारको सानो अंश ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार