
सत्ताधारी नेकपामा पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई सहकार्यको प्रस्ताव राखेर माधव नेपाल समुहलाई एक्लाउने रणनीति लिएका छन् ।
आफ्नो सरकारी निवास बालुवाटारमा बुधबार बिहान भएको भेटवार्तामा ओलीले दुई अध्यक्ष बीच मिल्दा पार्टीमा देखिएको संकट हल हुने बताएका हुन् ।
उच्च स्रोतका अनुसार, ओलीले प्रचण्डसँग मिलेर जान आफू तयार रहेको बताएका थिए । तर, बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरुसँग बनाइएको गठबन्धन तोड्नुपर्ने उनको शर्त छ । ‘तपाईं माधव नेपालको पछि लाग्दै हुनुहुन्छ । तपाईंले माधव नेपाललाई चिन्नु भएकै छैन । हामी मिलौं’, ओलीको प्रस्ताव थियो ।
तत्कालीन एमालेको राजनीतिक घटनाक्रमबारे लामो व्याख्या गर्दै ओलीले ‘माधव नेपाल कति धोकेबाज हुन् भन्ने चिन्नु भएकै छैन । पछि थाहा पाउनुहोला’ भनेका थिए ।
प्रधानमन्त्री एपं अध्यक्ष ओलीलाई भेट्नजानु अघि प्रचण्डले नेताहरुसँग परामर्श गरेका थिए । स्थायी कमिटी बैठक एक हप्तालाई स्थगित भएपछि ओलीले आफू निकट नेताहरुमार्फत् विशेषगरी प्रचण्डसँग संवाद र सहमतिको प्रयास गरिरहेका छन् ।
नेता नेपालसँग भने कुराकानी भएको छैन । गएको हप्ता नेपाललाई फकाउन ओली निकट नेताहरु कोटेश्वर पुगेका थिए ।
ओली समूहले पूर्वएमालेले मार्गदर्शक सिद्धान्त मानेको जनताको बहुदलीय जनवाद (जबज) कार्ड समेत खेलेको थियो । सवै प्रयास सम्भव नभएपछि ओली फेरि प्रचण्डसँगै मिल्ने रणनीतिमा पुगेका छन् ।







