कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि पार्टीमा अप्ठ्यारोमा परेका सत्ताधारी नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठकमा सहभागी हुन दबाब बढेको छ ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको आरोप लगाएका छन् ।

उनी मंसिर २१ गते भएको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । उनले एक पत्र पठाउँदै बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । ओलीले प्रस्तावका नाममा आएको दाहालको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका छन् ।

ओलीले दाहालको प्रस्तावलाई ‘अभियोग पत्र’ भन्दै आफूले खारेज गरिसकेकोले त्यसमाथि छलफल हुन नसक्ने जिकिर गरेका छन् । स्थायी कमिटी बैठकमा सहभागी नभएर ओलीले इतर पक्षसँग सघन छलफल थालेका छन् । ओलीलाई बैठकमा सहभागी हुन, आफ्नो कुरा त्यहीँ भन्न र कमिटीको निर्णयअनुसार चल्न दबाब बढेको छ ।

ओली सहभागी नभएपछि मंसिर २८ गतेसम्मलाई स्थायी कमिटी बैठक स्थगित गरिएको छ । योबीचमा ओलीले अर्का अध्यक्ष दाहालसँग छलफल गरे पनि ठोस सहमति हुन सकेको छैन ।

उता नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

दाहालले आफ्नो प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै कुनै एक पद छाड्न ओलीलाई दबाब दिएका छन् । दोस्रो तहका नेताहरूले दाहाललाई भदौ २६ को सहमति पूर्णरूपमा कार्यान्वयन हुने गरी सहमत हुन आग्रह गरेका छन् तर दाहालले त्यसलाई पनि अस्वीकार गरेका छन् । भदौ २६ को सहमति ओलीले नै उल्लंघन गरेको दाहालको आरोप छ ।

दुई जनाको वार्तामा ओलीको आग्रह र निकट नेताहरूको सन्देशलाई पनि दाहालले अस्वीकार गरेपछि ओलीले निकटस्थहरूसँग सघन छलफल अघि बढाएका हुन् ।

उनीहरूका अनुसार निकटस्थहरूका सुझाबका आधारमा अघि बढ्ने तयारीमा ओली छन् । ओली निकटकै एक नेताका अनुसार एजेण्डामा सहमति भइसकेकाले अबको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी हुनेछन् ।

पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

निकटस्थहरूले पार्टी बहुमत-अल्पमतको खेलमा पुगेको भए एकीकरण हुनुअघिका पूर्वसमूहको अनुपात मिलाउन पनि ओलीलाई सुझाएका छन् । यस्तो अवस्थामा पूर्वएमालेभित्रको पनि नेपाल समूह अहिले दाहालतिरै भएकाले त्यो विषय उठान गर्ने मुडमा ओली नरहेको बताइन्छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार