
२०५७ असोज ८को बेलुकी ६ बजेतिर खाना खाने क्रम सिद्धियो । फाट्टफुट्ट गाउँले महिला तथा पुरुष किसानहरू नवलपुर, नगर टाडी स्थित दलबहादुरको घरमा आउन थाले । जताजतै भयपूर्ण वातावरण थियो देशमा । बर्ग संघर्सले उचाईँ लिदै थियो। वर्गसंघर्षले छलाङ्ग मारिरहेको थियो । नवजवानहरू शहिदको खातामा नाम लेखाउन आतुर थिए ।
अन्त्यमा ७ वजे भनिएपनि ८ वजेबाट नगर टाडी गाउँको दलबहादुरको घरमा प्रशिक्षण कार्यक्रम शुरु भयो। जसमा लाली दिदीले नै उक्त कार्यक्रमको शुरुवात गर्दै भन्नुभयो—“आदरणीय शहिदहरू, जसले मातृभूमिको रक्षार्थ र आम गरिब जनताको मुक्ति अभियानमा अगाडि वढ्ने शिलशिलामा शहादत प्राप्तगर्नुभयो, मेरो हार्दिक सम्मान । उहाँहरूको शाहसिक मृत्युवाट प्रेरणा लिई उहाँको पथप्रर्दशकको रुपमा अघि वढ्ने प्रण गर्दछौं। मेरा आदरणीय किसान साथीहरू, आज हाम्रा साथीहरू मृत्य वा जीवनको सपथखादै निरन्तर अगाडि वढ्दै छन् । अन्यायका विरुद्ध आगो ओकल्दैछन् । उनीहरू स्वर्गको ढोका घचघच्याइरहेका छन् । यस धर्तीलाई नयाँ ज्योतिले आलोकित गर्नको लागि मुटुको खण्डित दियोहरू जोडेर ज्वाला पैदा गर्दैछन् । एउटा नयाँ इतिहास जन्माउँदैछन्, त्यो प्रेमको ज्योतिलाई कुनै शक्तिले नष्ट गर्न सक्ने छैन । यस प्रेमको ज्योतिले नयाँ धर्ती जन्मन प्रसव व्यथामा छटपटाउदै छ र जीवन स्वयं आफ्नो विजयको लागि जन्मन लागेको छ । अब तपाईहरू नै बताउनुहोस् साथीहरू, यो क्रान्ति कसले रोक्न सक्छ, कसैले सक्दैन रोक्नलाई ।”
दिदी यति जोडले बोल्दै हुनुहन्थ्यो कि उहाँको श्वास बढेको थियो। जनताको निम्ति कहिले खाँदै, कहिले भोकै हिड्दा हिड्दै पहेंलिएको लाली दिदीको पातलो शरिर काँपिरहेको थियो । उहाँ आराम गर्न एकछिन स्तव्ध हुनुभयो । लाग्दथ्यो, दिदीका आँखाबाट एउटा नयाँ प्रकाश निस्कदैछ, जो चारैतर्फ फैलदै छ ।मानौ, उहाँ आवाजको गडगडाहटसँगै आकाशिन खो-ज्दै हुनुहुन्छ । उहाँको दिमागमा ती सुन्दर बिचारहरूले चक्कर लगाइरहेका छन्। जसमा उहाँले आफ्नो समस्त आत्मा,आफ्ना सारा अनुभव र समवेदना भरि रहेको भान हुन्छ । कार्यक्रममा उपस्थित सबैलाई कस्तो प्रतित भइरहेको थियो भने, सारा विश्वको मुक्तिको लागि नयाँ अवतारले जन्म लिदै छ ।
लाली दिदीले एक गिलास पानी पिएपछि फेरि भन्न थाल्नुभयो—“सबैका लागि सबै, सबै मान्छे परस्पर सुख दुःखका साथी । सबै मान्छे एउटै रगतको नाताले बाँधिएका, यो नाता अजम्वरी र प्रेमिल नाता । मानब मानब बिचको भातृत्व, केही मान्छेका कारणले समाप्त हुन दिनु हुँदैन ।”
बीचमा धनबहादुर दाइ उठेर भावविह्ल हुदै भन्न थाले—“दिदी तपाई कति महान् हुनुहुन्छ, तपाईका विचारमा नै, सहारामा नै हामीहरू कठिनभन्दा कठिन यात्रा पुरा गर्नेछौं । पक्कै पनि …।” दिदीले सबैतर्फ इंगित गर्दै भन्नु थाल्नु भयो—“तपाईहरूलाई थाहा नै छ, आज हाम्रो क्रान्तिले यथायस्थितिवादीहरूका किल्लाहरू धरासायी हुदैछन् । उनीहरूले सोचेभन्दा हाम्रो शक्ति रातदिन गुणात्मक रुपले बढिरहेको छ । हरेक पार्टीभित्रबाट वर्गियताको न्यानोपनसँगै हुर्केको समर्थनले सहयोग पुगिरहेको छ हाम्रो क्रान्तिलाई । क्रान्तिप्रिय जनताहरू आफ्नो ठाउँबाट गलत धारहरूका साङ्गला चुडालेर आन्दोलनमा धुव्रिकृत भइरहेका छन र यो प्रकृया विजयमा नपुगञ्जेल चलिरहनेछ । साथीहरू यो क्रान्ति कसैको पेवा होइन, यो जनताको मुक्तिको औजार हो । हाम्रो बलिदान पनि हुनसक्छ तर हाम्रो सट्टामा नयाँ साथीहरू अग्रपंक्तिमा उभिनु हुनेछ ।अहिले जुनसुकै धारमा आवद्ध भएपनि न्यायको लागि एउटै आवाज लिएर क्रान्तिकारी झण्डामुनि गोलवन्द हुन आईपुग्नेछन्।
जनतालाई हामीले कहिल्लै घृणा गर्नु हुदैन । उनीहरू पनि जनक्रान्तिका भावी सिपाही हुन् र योभन्दा ठूलो आँधी शुरु भएपछि उनीहरूलाई आफ्नो कित्ता रोज्न कर लाग्नेछ । त्यसैले हामी थोरै छैनौं । यो विशाल सिंगो आकाश हाम्रो हो, यी समुद्रहरू र क्षितिज हाम्रा हुन् ।तपाईले सिंङ्ग धर्तीलाई आफ्नो परिचय दिन सक्नु हुनेछ । शरिरमा एकथोपा रगत छउन्जेल अहिलेको शाही दमनलाई चिर्दै अघि बढ्नुस् । प्यारा छापामार र संघर्षप्रिय जनताहरूलाई हर तरहले सहयोग गर्दै क्रान्ति लक्ष्यलाई जीवन लक्ष्य बनाउनुहोस् । यही मेरो अनुरोध छ, विजय अत्यन्त निकट छ, चाँदीको घेरा तपाईँहरूले अहिले नै देख्न सक्नुहुनेछ । अनि अर्कोकुरा, साथीहरूलाई गाउँ टोल जहाँ जहाँ सम्भव हुन्छ, संगठित गर्नुहोस् र क्रान्तिको जिम्मा दिनुहोस । संगठनको जालो यसरी फैलाइदिनुस् कि, निशाचरहरू जहाँ गए पनि सहयोग नपाएर तड्पिउन ।”
भन्दै गर्दा दिदीको कण्ठ अवरुद्ध भयो । सुष्मा निरीक्षण गर्न बाहिर बसिरहेकी थिइन । अकस्मात् भित्र आइन र दुश्मनले घेरा हालिसकेको सूचना दिइन । केही गाउँलेहरू पछाडिबाट कुलेलम ठोके । दलबहादुरलाई पुलिसले समाति सक्यो र अन्य कार्यकर्ताहरू पनि गिरफ्तार हुने स्थिति देखियो । तर अचानक दिदीले एउटा जुक्ति निकाल्नुभयो र दुश्मनको ध्यान आफूतर्फ खिच्न चर्को स्वरमा नारा लगाउनु शुरु गर्नुभयो ।
महान क्रान्ति — जिन्दावाद !
फासिष्ट शाहीतन्त्र —मूर्दावाद !
राज्य आतंक — वन्द गर !
प्रहरीहरू दिदीलाई समात्न दौडे, दलबहादुर प्रहरीको हातबाट उम्कन सफल भयो । तर उनीहरूले दिदीलाई समातेर हतकडी लगाए । दिदी चिच्याइरहनु भएको थियो ।
जनक्रान्ति — जिन्दावाद !
जन गणतन्त्र — जिन्दावाद !
गाउँदेखि पारी पाखामा किसानहरूको खरवारी थियो । प्रहरीहरूले हतार हतार टर्च लाईट बालेर त्यहीबाटोबाट दिदीलाई चौकीतर्फ लैजादै थिए । अचानक त्यही खरबारीको विचमा वन्दुक पड्केको आवाज सुनियो। करीब एक घण्टापछि गाउँलेहरू खरवारीमा पुगे । प्रहरीको त्यहाँ नामो-निसान थिएन । दिदीको शरिर सर्वाङ्ग नाङ्गो पारिएको थियो । दिदीको चेतना गुमिसकेको थिएन । पेटमा गोली लागेकोले रगतको खोला नै बगिरहेको थियो। त्यस्तो अवस्थामा पनि दिदी भनिरहनु भएको थियो—“ए ! पाखण्डीहरू हो, मेरो हत्या गरेपनि तिमीहरू क्रान्ति रोक्न सक्ने छैनौं ।
खोवारी रायजस्ता अपराधीलाई संरक्षण गर्ने दुष्टहरू हो, मेरो बदला यो देशको माटो समाएर कसम खाएका देशभक्तहरूले एकदिन लिएर छाड्नेछन् ।” अचानक दिदीको वाक्य अवरुद्ध भयो । गाउँलेहरू बोलाउँदै थिए—“ए दिदी ! दिदी !” तर क्रान्तिकी प्रतिक लाली दिदी चीर निद्रामा सुतिसक्नुभएको थियो ।







