
प्रिय कमरेड
झुपडीहरूको अपेक्षालाई कत्लेआम गरि
जुन दिन तिमीले महलहरूसँग सामीप्य बढायौ
त्यसै दिन मरेको हो
-मोर्चामा खुशी खुशी श्रीमानलाई पठाएकी एक बिधवाको
तिमी प्रतिको नडगमगाउने भरोसा !
-त्यसै दिन फेरि रिक्त भएको हो
सन्तानको सहादतले पनि नखलबलिएको
सहिद परिवारकी वृद्ध आमाको हृदय !
-त्यसै दिन बज्रप्रहार भएको हो
तिम्रो कुठाराघातले
बडो स्नेह पुर्वक आफ्नै गाँस काटेर
जनयुद्धलाई हुर्काइरहेका गरिव दुखिहरूको आशातीत हौसला !
कमरेड ,
के तिमी आज महसुस गर्न सक्छौ ?
हिजो तिम्रो स्वागतार्थ झुपडी झुपडीमा
लालझन्डा फरफराएर
फूल माला बोकेर तिम्रो स्वागत गरिरहेका
जनलस्करहरूको आँखामा
यतिबेला कसरि कति मडारिएको होला
तिमी प्रतिको चरम घृणा र आकोशको ज्वाला ?
सुन !
झुपडिहरू प्रश्न गरोरहेका छन्
किन दियौ तिम्रो निजि महत्वाकांक्षाको अग्निमा
समस्त सिमान्तहरूको सपनाको आहुती ?
-किन काटिदियौ
तिम्रो निजि उच्चकाँक्षाको रकेटमा
भर्खर उड्दै गरेका वर्गिय मुक्तिका पखेटाहरू ?
किन कुचल्दियौ उन्मुक्तिका स्वरहरू ?
-समाजवादको सपना बेचेर किन अल्झिरहेको छौ
कतै पुँजीवादको गोलचक्करमा ?
हेर त तिमीले संशोधनवादको पक्षपोषण गरिरहदा
कतैबाट पक्कै हेरिरहेका होलान्
मार्क्स , एंगेल्स , लेनिन र माओहरू
तिमीले त उनिहरूकै सिद्धान्तको हत्या गरिदियौ !
होसियार कमरेड !
यतिबेला सौखिन महलको महँगो टेबुलमा
जन्म उत्सव मनाइरहदा
तिमीले काटिरहेको महँगो केकवाट
हजारौँको रगत र पसिनाको फ्लेवर आएन भने
सम्झ तिमी यो युगको
सबै भन्दा गद्दार र भ्रष्ट खलनायक हौ
अब मसँग तिमीलाई दिन
छरपस्ट गुनासो ,आक्रोश ,असन्तुष्टि अतिरिक्त कुनै उत्कृष्ट सुभेक्षा छैन
किनकी
विश्वासको अवसान हुनु भनेको
सुर्यास्त हुनु जस्तो नया अपेक्षालाई जन्म दिनु त हुँदै होइन !!







