
आफ्ना पूराना मागहरु पूरा नभएपछि उखु किसानहरु फेरि आन्दोलित हुन बाध्य भएका छन् ।
चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ ।
यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागिता जनाउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रकाे दाबी छ ।
चिनी मिलबाट उखु किसानहरुले वषौंदेखि भुक्तानी पाएका छैनन् । गतवर्ष उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।
तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।
श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।
पटक पटक आवाज उठाउँदा पनि सुनुवाइ नभएपछि याे कठ्याङ्ग्रिदाे जाडाेमा किसानहरु आन्दाेलनमार्फत् दबाब दिन काठमाडौं आउन बाध्य भएका हुन् ।







