
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझै गहिरिने संकेत देखिएको छ। विवाद समाधानको उपाय खोज्न स्थायी कमिटी सात दिनका लागि स्थगित गरे पनि शनिबार साँझसम्म सहमतिको कुनै बाटो निस्केको छैन।
बरु प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्ष आ–आफ्नो तयारी र रणनीति बनाउन सक्रिय छन्। पार्टी विवाद समाधानभन्दा एकअर्कालाई गलाउने र आफ्नो पक्षमा नेताहरूलाई ल्याउनमै दुवै पक्षले जोडबल लगाउँदै आएका छन्। दुवै अध्यक्ष परिस्थितिलाई आफूअनुकूल बनाउन लागिपर्दा आन्तरिक विवाद समाधान होइन, थप गहिरिन पुगेको छ।
पार्टी कमिटीहरूमा अल्पमतमा परेपछि स्थायी कमिटी बैठकमै सहभागी नभएका प्रधानमन्त्री ओली आइतबारको बैठकमा सहभागी हुनेमा अझै निश्चित हुन सकेको छैन। तर अर्का अध्यक्ष दाहालसहितका नेताहरू भने अब ओलीलाई बैठकका लागि नकुर्ने रणनीतिमा पुगेका छन्।
दुवै अध्यक्षले सचिवालयमा पेस गरेको प्रतिवेदनमाथि छलफल गराउँदै निर्णयमा पुग्ने उनीहरूको तयारी छ। पार्टी कमिटीहरूमा संख्यात्मक रूपमा कमजोर देखिएका ओली र उनीनिकट नेताहरू भने दुवै अध्यक्षको प्रतिवेदन फिर्ता लिएर भदौ २६ कै निर्णयमा फर्कनुपर्ने पक्षमा देखिएका छन्।
कार्यकारी अध्यक्षको भूमिकाको थप व्याख्या गर्ने, नेता माधवकुमार नेपाललाई महाधिवेशन आयोजक कमिटीको संयोजक बनाएर तत्कालका लागि विवाद थामथुम बनाउने ओली पक्षले चाहेको थियो। तर दाहाल र नेपाल दुवैले त्यसलाई अस्वीकार गरेका छन् र स्थायी कमिटी बैठकबाटै समस्याको समाधानमा पुग्नुपर्ने अडानमा अहिलेसम्म कायमै छन्।
दाहाल र नेपाल स्थायी कमिटीबाटै अघि बढ्ने रणनीतिमा पुगेपछि ओलीले उनीहरूनिकट केही स्थायी कमिटी सदस्यलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरेको स्रोतको दाबी छ।
सचिवालयमा अल्पमतमा परेका ओलीले आफूविरुद्ध स्थायी कमिटीमा बहुमत जुट्न नदिन केही नेतालाई मध्यमार्गी भूमिका निर्वाहका लागि गरेको पहल पनि असफल भएको एक नेताको दाबी छ।
आफ्ना कुनै पनि प्रयास विफल भएपछि ओली दाहाल–नेपाललाई फुटाउने प्रयासस्वरूप अर्का अध्यक्ष दाहाललाई बालुवाटार बोलाएर मिलेरअघि बढ्ने प्रस्ताव राखेको इतर पक्षको विश्लेषण छ।







