सत्ताधारी नेकपाका पहिलो अध्यक्ष केपी ओलीले पार्टीभित्रको विवादलाई मत्थर पार्न कहिले दोस्रो अध्यक्ष प्रचण्ड र कहिले वरिष्ठ नेता माधव नेपाललाई फकाउने कोसिस गरेका छन्। तर दुबैले अहिलेसम्म अस्वीकार गरेका छन् ।

मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे। भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए। तर दाहालले सो विषयलाई खासै महत्व दिएनन्। मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले दाहाललाई भेटेका थिए।

उनले त्यतिबेला बैठक रोकेर सहमतिका लागि आग्रह गरेका थिए। तर दाहालले यो कुरा बैठकमै राख्न भनेपछि ओलीले कुनै जवाफ फर्काएका थिएनन्। बुधबारको भेटघाटमा पूर्वएमालेका नेताहरूको साथ छाडेर आफूसँग सहकार्य गर्न आग्रह गरेका ओलीले आइतबारको बैठकअघि पनि दाहालसँग निरन्तर सहकार्यको प्रस्ताव राखेका छन्।

शनिबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दाहाल निवास खुमलटार पुगेर ओलीको सन्देश सुनाएका थिए। स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले दुवै अध्यक्ष मिलेर अहिलेको समस्या समाधान गर्नुपर्ने र पार्टी एकताको भावनाअनुसार अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए।

ओली पक्षले धेरैपटक गत भदौ २६ गते स्थायी कमिटीले गरेको निर्णयलाई कार्यान्वन गर्ने र त्यही निर्णयलाई सहमतिको आधार बनाउनुपर्ने धारणा राख्दै आएका बेला मुख्यमन्त्री पोखरेलले पनि त्यही विषयलाई सहमतिको आधार बनाएर अघि बढ्नुपर्ने, त्यसका लागि प्रधानमन्त्री ओली तयार रहेको सन्देश सुनाएका थिए।

तर त्यही भेटमा दाहालले प्रधानमन्त्री ओलीले आफूसँग सल्लाह नै नगरी एकलौटी रूपमा संवैधानिक आयोगका पदाधिकारीको टुंगो लगाउन खोजेको भन्दै असन्तुष्टि जनाएका थिए। जवाफमा पोखरेलले प्रधानमन्त्रीले संवैधानिक आयोगमा नियुक्तिको विषयमा कुराकानी गर्न पनि चाहेको सन्देश प्रवाह गरेका थिए।

आइतबारको स्थायी कमिटी बैठकमा गुट भेलाबारे कुनै पनि विषय उठेको थिएन। आइतबार नेकपाका केन्द्रीय सदस्य कामनसिंह लामाको निधानबारे शोक प्रस्ताव पारित गरेर सकिएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार