
अन्तिम समयसम्म अध्यादेश फिर्ता नलिने अडानमा बसेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः मंगलबारको आफ्नो निर्णयबाट भोलिपल्टै अर्थात बुधबार नै पछि हट्न बाध्य भएका छन् ।
बुधबार स्थायी समिति बैठकका लागि निर्धारित समय १ बजेका लागि नेकपाका नेताहरु बालुवाटार पुगिसकेका थिए । यो बैठकमा अध्यादेशका सवाललाई लिएर नेताहरुले ओलीको उछितो काढ्ने तयारी गरिसकेका थिए ।
त्यो भन्दाअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा अध्यादेश फिर्ता नगर्ने अडान राखेका थिए । तर ह अन्तिममा आएर प्रधानमन्त्री ओली पछि हट्नुमा तीनवटा मुख्य कारण रहेको सो पार्टीका केही नेताहरुले अनौपचारिक कुराकानीका क्रममा बताएका छन् ।
ओली निकट मानिने ती नेताका अनुसार पहिलो, अध्यादेशको संवैधनिक पुष्टि हुन नसक्ने अवस्था थियो । दोस्रो चोतर्फी विरोध र आलोचना बढ्ने खतरा देखियो । तेस्रो अध्यादेशले संशाेधन गरेका प्रावधानका आधारमा बसेकाे बैठकबाट नियुक्तिहरु गरिए पनि संसदीय सुनुवाइले तिनलाई अनुमोदन नगर्ने निश्चित थियो । यी तीन कारणहरुले गर्दा प्रम ओली पछि हट्न बाध्य भएका हुन् ।
त्यसका साथै अध्यादेशविरुद्ध ८३ जनाले सांसदले हस्ताक्षरसहित बैठक बोलाउन माग गर्दै राष्ट्पतिसमक्ष समावेदन गर्न पुगे । प्रम ओलीले स्थिति यो ढंगले अगाडि बढ्ला भन्ने साेचकै थिएनन् ।
घटनाक्रम साेचेभन्दा फरक ढंगले अगाडि बढ्ने र आफूले गरेको निर्णय आफैलाई बुमर्याङ हुने देखेपछि प्रम ओली थप गल्न बाध्य भएका हुन् ।







