
सत्तारुढ नेकपा नेता देव गुरुङले शान्ति प्रक्रिया अझै टुंगोमा नपुगेकाले पूर्व माओवादी नेताहरु जुनसुकै बेला जेल जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
पूर्व माओवादी पार्टीका करिब सात हजार नेता कार्यकर्तामाथि अझै पनि सशस्त्र द्वन्द्वकालका करिब चारसय मुद्धा बाँकी रहेकाले कुन बेला जेल जानुपर्ने हो ठेगान नभएको गुरुङले बताए ।
‘द्वन्द्वकालका मुद्धा हल हुन दिइएको छैन, अझै सात हजार नेता–कार्यकर्ताको नाममा झण्डै चारसय मुद्धा जस्ताको तस्तै छन्’–बिहीबार बुटवलमा आयोजित एक कार्यक्रममा गुरुङले भने, ‘विभिन्न हथ्कण्डा अपनाएर कुन बेला जेल जानुपर्छ ठेगान छैन ।’
अर्को प्रसंगमा उनले पार्टीमा मतभेद हुनेवित्तिकै फरक मत राख्नेलाई निषेध गर्ने प्रवृत्ति बढेको बताए । प्रधानमन्त्री ओलीले प्रमुख सचेतकबाट आफ्नो राजीनामा माग्नु यदुवंशी प्रवृत्ति भएको उनले औंल्याए ।
आफूलाई प्रमुख सचेतक पद कसैको व्यक्तिगत चाहनाले नभई पार्टीले संस्थागत निर्णय गरेर दिएको भन्दै गुरुङले पार्टीको निर्णयविना राजीनामा नदिने स्पष्ट पारे ।







