उहाँले संसद विघटनको कदम चालिसकेपछि झूटो बोलेर अर्का कार्यकारी अध्यक्षलाई पछिसम्म पनि अल्मल्याइरहनुभयो । स्थायी कमिटीको बैठकमा उहाँले के भन्नुभएको थियो भने संवैधानिक परिषद्मा कुनै पनि नियुक्ति गरिएको छैन । कति ढाट्नुहुँदो रहेछ भन्ने त बैठकमा उहाँको प्रस्तुतिबाट थाहा हुन्छ ।

त्यो बैठकमा अध्यादेश (संवैधानिक परिषद्सम्बन्धी) फिर्ता लिने, जुन सर्वसम्मतिले निर्णय भएको थियो, त्यो फिर्ता नलिएर निर्णयको ठाडो उल्लङ्घन गर्ने तहमा पुग्नुले उहाँको प्रवृत्ति प्रष्ट हुन्छ । पार्टीको बैठक मान्दिनँ, निर्णय स्वीकार गर्दिनँ भनेर सार्वजनिक अभिव्यक्ति दिन गर्नुहुन्छ । प्रत्येक भेटघाटमा उहाँ कति निरङ्कुश पाराले चल्न चाहनुहन्छ भन्ने कुरा प्रष्ट हुन्छ।

स्वाभाविक रूपले यस्ता व्यक्तिलाई पार्टीले कारबाही गर्नैपर्छ । पार्टीको स्थायी कमिटीले सिफारिस गरिसकेको छ, केन्द्रीय कमिटीले उहाँलाई कुन-कुन पदबाट कारबाही गर्ने हो । अध्यक्षमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभयो । केन्द्रीय कमिटी बैठकमा बस्न लायक पनि हुनुहुँदो रहेनछ ।

वास्तवमा प्रश्न खडा हुन्छ, उहाँ पार्टी सदस्यका लागि लायक हो त ? एउटा कम्युनिस्ट पार्टीको सदस्यले अनुशासनको पालना गर्नुपर्छ । पार्टीको विधानको मातहतमा रहनुपर्छ । पार्टीको निर्णयलाई सर्वोपरी ठान्नुपर्छ र लोकतन्त्र, गणतन्त्रको पक्षमा, लोकतान्त्रिक आचरण र विधिमा उभिनुपर्छ भन्ने मान्यतामा पनि उहाँले कुल्चिनुभएकोले उहाँले कम्युनिस्ट पार्टीको सदस्य मात्रै होइन, लोकतान्त्रिक चेत समेत गुमाउनुभएको छ ।

म भन्न चाहन्छु, पार्टी कार्यकर्तालाई पार्टीभित्र यस्ता प्रवृत्ति बोकेका मान्छेहरु नेतृत्व तहमा पनि पुग्दा रहेछन् । रुसको पार्टीमा गोर्वाचोभ र येल्तसिन जस्ता मान्छेहरू पुगेका थिए, जसले कम्युनिस्ट आन्दोलनलाई सिध्याइदिए । कम्युनिस्ट पार्टी नै विघटन गरिदिए ।

चीनको कम्युनिस्ट पार्टीमा पनि लिन पियाओ प्रवृत्ति बोकेका मान्छेहरू नेतृत्व तहमा पुगेका थिए । उनीहरूको हातमा नेतृत्वको बागडोर पुगेको भए त्यो चिनियाँ कम्युनिस्ट पार्टी पनि सिद्धिन्थ्यो । तर त्यहाँका नेताहरूले बुद्धि पुर्‍याए । माओत्सेतुङले बुद्धि पुर्‍याउनुभयो । तेङ स्याओपिङले बुद्धि पुर्‍याउनुभयो । त्यस्ता व्यक्तिहरूको पहिचान गर्नुभयो । त्यसैको प्रभावले पार्टी र आन्दोलन जोगियो । तर त्यही कुरा रुसको हकमा देखिएन ।

त्यसो हुनाले यस्ता गलत प्रवृत्ति बोकेका मानिसहरुबाट पार्टी र आन्दोलन जोगिँदैन । यस्ता प्रवृत्तिका विरुद्धमा लड्ने अभियानमा दृढताका साथ उभिनुहोस् ।

व्यक्तिहरु आउँछन्, जान्छन् । पार्टी र आन्दोलन रहिरहन्छ । पार्टी र आन्दोलनका निम्ति हामी जुटेका छौं । त्यसैका लागि नेकपामा आबद्ध भएका छौं । तसर्थ, पार्टी र आन्दोलन जोगाउनका लागि हिम्मत नहारिकन दृढतापूर्वक, उच्च मनोबल बोकेर, गलत प्रवृत्तिलाई परास्त गर्छु भन्ने संकल्प बोकेर अगाडि बढ्नुहोस् । किनभने संघर्ष नै जीवन हो । जीवन नै संघर्ष हो । पार्टीभित्र पनि गलत विचारको बीचमा संघर्ष गरेर नै त्यसलाई पराजित गरेर नै सही विचारलाई स्थापित गर्न सकिन्छ ।

त्यस्ता गलत विचारको पक्षपोषकहरु जोसुकै किन नहोऊन्, हामीले माया गरेकै किन नहोऊन्, त्यस्ता गलत प्रवृत्तिको पक्षमा नजानुहोस् । व्यक्तिका लागि पार्टीलाई बलिदान नगर्नुहोस् । व्यक्तिहरू हुन्छन्, पात्रहरू सुपात्र भइदिए हुन्थ्यो भन्ने चाहनाहरू हुन्छन् । तर त्यस्ता तत्वहरूको पक्षमा लाग्नुपर्ने कुनै आवश्यकता छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार