
दिल्लीका नेपाल सम्बन्धी जानकारहरुले प्रतिनिधि सभा विघटनसँगै प्रधानमन्त्री केपी ओलीको राजनीतिक पतन हुने दाबी गरेका छन्।
ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमसँगै नेपालमा चीनको प्रभाव घट्ने भएकाले यो भारतको लागि सुनौलो अवसर भएको उनीहरुको भनाइ छ।
लामो समयदेखि नेपाल मामिलामा नजर राख्दै आएका भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले प्रतिनिधि सभा विघटनसँगै ओलीको पतन हुने दाबी गरे।
‘अब ओलीको पतन, प्रचण्डको उदय र नेपालमा चीनको प्रभाव कम हुन्छ,’ उनको दाबी छ, ‘नेपालको नयाँ राजनीतिक परिस्थितिले भारतका लागि नयाँ अवसर जन्माएको छ।’
नेपाल मामिलाका अर्का विज्ञ प्राध्यापक एसडी मुनीले पनि संसद् विघटन ओलीका लागि घातक हुने तर्क गरे। सत्तारुढ नेकपालाई एकताबद्ध राख्न चीन असफल भएको उनको निष्कर्ष छ।
‘चीनले नेकपाभित्र एकता कायम गर्न बहुत ठूलो प्रयास गर्दै आएको थियो। तर, नेकपाभित्र त विग्रह भइछाड्यो,’ उनले भने, ‘नेकपाको विभाजन र विग्रह चीनलाई ठीक नलाग्ला। तर चीन त राजाको साथमा पनि थियो। चीन त बाबुराम, प्रचण्ड र ओलीको पनि साथमा थियो नि।’
भारतको रक्षा मन्त्रालयसम्बद्ध थिंक ट्यांक आईडीएसएका नेपाल मामिला जानकार डा. निहार नायकले भने नेपालभित्र देखिएको राजनीतिक अस्थिरता भारतको हितमा नभएको जनाए। उनले भारत नेपालको राजनीतिक स्थायित्व र स्थिरताको पक्षमा रहेको बताए।
मुनीका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओलीले भारतको जासुसी संस्था ‘रअ’सँग सहकार्य गर्न थालेका थिए।
‘त्यही कारण उनले कालापानी क्षेत्रको नक्सा छाप्ने प्रक्रिया रोके,’ मुनीले भने, ‘ओलीले त भारतले मलाई साथ र समर्थन गर्न थालेको छ पनि भन्न थालेका थिए।’







