
केपी ओली त संगठक हुँदै होइनन् । कुनामा बसेर गफ गर्नेबाहेक अरु छँदैछैन । उनी विचारक भन्दा पनि अलि ठुल्ठुला सपना बाँड्ने टाइपको, अतिरञ्जित कुराहरु गर्ने स्वाभाव चाहिँ उनीमा छ । तर, यिनी संगठक होइनन् ।
उनले संगठन गरेकै छैन । न झापा आन्दोलनकालमा गरे, न पछि काम गरे । यिनी मान्छेहरुलाई भित्रभित्र पैसा बाँडेर गुट बनाउनचाहिँ जान्ने मान्छे हुन् । तर, गुट बनाउनु र पार्टी बनाउनु फरक कुरा हो । पार्टी भनेको सबैलाई समेट्नुपर्यो , गुटबन्दी भनेको त्यसबाट मन लागेका मान्छेहरु छान्नुपर्यो ।
यो तरिकाले त भोलि ओलीकै पार्टीमा पनि सीपी मैनालीकै हालत हुन्छ । सीपी पछि माले बनाएर त्यहीँ पनि ‘ग्रुपिजम’ गर्दागर्दै टुट्दै टुट्दै सिद्धिए । ओलीले पनि ‘ग्रुपिजम’ कहिल्यै छाड्दैनन् । पाँच सय मान्छे भए भने दुई सयलाई समाउँछन्, तीन सय भाग्छन् । यो हालत छ । त्यसकारण ओलीको त्यति राम्रो पोजिसन होलाजस्तो मलाई लाग्दैन ।
ओलीको अर्को समस्या भनेको उनी धेरै गतिशील हुन सक्दैनन् । उनको स्वास्थ्य एकैदिनमा दुई/चारवटा जिल्ला घुम्नेखालको, अथवा तीन/चारवटा कार्यक्रम गर्नेखालको छैन । अहिले प्रधानमन्त्री हुँदा पनि बालुवाटारबाट सिंहदरबार आउन सकिराखेका छैनन् । त्यसैले उनी बाहिर निस्कनै सक्दैनन् ।
ओलीजीसँग देशभरि भञ्ज्याहा र बदनाम टाइपका मान्छेहरु अलि धेरै छन् । अहिले ईश्वर पोखरेल पनि बदनाम भए । भानुभक्त ढकाल पनि बदनाम भए । बास्कोटा पनि बदनाम । बदनामै बदनामको सिँढीजस्तो हुने भो । अहिलेसम्म बदनाम नभएका शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङहरु हुन् । अरुचाहिँ जम्मै उचालेर ओलीलाई माथि लगेर पद लिने खालका छन् । ओलीलाई उचाल्ने अनि आफ्नो पोजिसन बनाउने टाइपका ।
केपी ओलीसँग त कार्यकर्तै कम्ति छन् । भएका पनि सादगी कार्यकर्ताहरु कम छन् । अलि सादगी युवाहरु माधव नेपालतिर बढी भए, ओलीपट्टि अलि उद्दण्ड टाइपकाहरु बढी भए ।
प्रचण्ड र माधव नेपालकै वीचमा नफुटे पनि फुट्छन् कि भन्ने आशंका धेरै छ । प्रचण्डको शैली आदेश दिएर हिँड्नेखालको छ । माधवको आदेश सुन्नै नमान्नेखालको शैली छ । उनीसँग कुरो गर्दा नरम भाषामा यसो गर्दा पो हुन्छ कि भन्यो भने उनी खुशी हुन्छन्, अलि कमाण्डिङ भाषामा कुरो गर्यो भने माधव नेपाल पड्किन्छन् । भित्रभित्र तुष बोक्नेखालको शैली छ । त्यसकारण दुई नेताहरुको शैली मिल्दैन । उनीहरुका वीचमा शैलीगत समस्याहरु धेरै छन् ।
संगठन बनाउने शैली पनि माधव र प्रचण्डको मिल्दैन । माधवका कार्यकर्तामा संगठन बनाउने शैली अलि राम्रो छ । प्रचण्डहरुको शैली पार्टी बनाउनेमा अलि छैन । पूर्वएमाले क्याडरमा अरुबाट कमाउने प्रवृत्ति अलि सानो छ, कार्यकर्ताहरु अलि सादगी छन् । कसैको १० हजारको काम गरिदियो भने दुई सय/तीन सय रुपैयाँमात्रै लिनेखालका मान्छेहरु एमालेमा छन् ।
माओवादीलाई चाहिँ १० हजारको काम गरिदियो भने ५ हजार चाहिन्छ । ठ्याक्कै आधा उनीहरुलाई चाहिन्छ । उनीहरुको जीवनशैली पनि माथि छ । ठाकठुक गरेर पैसा लिने शैलीले गर्दा त्यति सजिलो चाहिँ हुँदैन ।
एमालेका पूर्व नेता राधाकृष्ण मैनालीसँग अनलाइन खबरले गरेको कुराकानीको सानो अंश ।







