
सत्ताधारी नेकपा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रचण्डलाई छोडेर केपी ओली क्याम्प रोजेपनि बादल निकट नेता-कार्यकर्ताहरु भने प्रचण्ड-नेपाल क्याम्पमै रहने भएका छन् ।
बाहिर सार्वजनिक नगरेपनि बादलले ओलीलाई नै साथ दिने बताएपछि उनीनिकट मानिने लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले सति जान नसक्ने प्रतिक्रिया दिएका छन् ।
बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन। तपाइँको प्रगति होस् ।’
बादल निकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफूले पनि दाहाल-नेपाल समूहकै बैठकमा सामेल हुने बताइसकेका छन् ।
बादलनिकट नै मानिने स्थायी कमिटी सदस्यहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल सुरुदेखिनै दाहाल-नेपाल समूहका बैठकमा सामेल हुँदै आइरहेका छन् ।







