
पार्टी विभाजनपछि केही समय बीचमा बसेका राम बहादुर थापा बादल आज खुलेर केपी शर्मा ओली समूहमा लागेका छन् ।
बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले चर्को रुपमा बोल्दैं प्रचण्ड र माधव समुहको उछित्तो काढ्ने काम गरे ।
बादलले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताए। आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने पनि उनको तर्क छ।
‘संसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो। विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले भने।
उनले आफूले पार्टी नेतृत्व केपी ओलीको आदेश निस्शर्त मान्ने उल्लेख गरे।
‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, ‘केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।’
उनले प्रचण्ड-नेपाल संघीय व्यवस्था उल्ट्याउने योजनामा लागेको आरोप लगाए।







