
संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।
‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष द्धय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।
नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।
निवर्तमान मन्त्री घनश्याम भुसालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताए ।
आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड(माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।
बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।







