
चीनको जनवादी क्रान्ति सफल भएको वर्ष सन १९४९ सम्म चीनको अर्थव्यवस्था क्रयशक्तिको कमी तथा मुद्रास्फीतिको मारले थिलथिलो थियो ।
चीनमा सन १९३७ मा १०० युआनमा २ गाई किन्न सकिन्थ्यो, सन १९३९ मा त्यही पैसाले १ सुगुर, १९४१ मा १ बोरा पीठो, १९४३ मा १ कुखुरा, १९४५ मा २ अन्डा, १९४७ मा १ डल्लो कोइला र १९४९ मा त्यही १०० युआनले १ सिट ट्वाइलेट पेपर मात्र किन्न सकिन्थ्यो ।

माओ त्सेतुङको नेतृत्वमा चीन सरकारले आर्थिक उन्नतिका साथै सन १९५२ सम्ममा मुद्रा स्फीतिलाई पूर्ण नियन्त्रणमा ल्यायो । अचम्म त के भने झन्डै माओ बाँचुन्जेल २३ वर्ष सन १९५२ देखि १९७५ सम्म चीनमा मुद्रास्फीति नै थिएन । नियन्त्रणमा राजनीति (पलिटिक्स इन कमान्ड) रहेकाले चीनमा माओ नेतृत्वको समयमा आर्थिक छलाङहरू पनि लागे ।
माओले निर्माण गरेको आर्थिक उन्नतिको जगमा आजको चीनको अर्थव्यवस्था जगमगाइरहेको छ । चीन तथा विश्वले आज महान माओको १२८ औं जन्मजयन्ती मनाइरहेको छ ।
विडम्बना, हाम्रो नेपालमा झन्डै दुईतिहाइको नेकपाको सरकार तीन वर्ष नपुग्दै संसद विघटनसँगै सोतर भएको छ । पार्टी फुटाउँदै फटिचरहरू फटफटाउन थालेका छन् । अपवित्र गठबन्धन उदाङ्गिएको छ । सरकार सत्ताको चरम दुरुपयोग गरिरहेको छ । सडक नाटक मञ्चन सुरु भएको छ ।
संसद विघटनको निर्णयले सत्ताको सिंहासनमा विराजमान चार पूर्वप्रधानमन्त्रीहरू सडकमा हामी यहाँ छौं भन्दै रोदनमा छन् । संसदीय व्यवस्था नेपालमा फिट भएन। नेपालमा राजनीतिक अस्थिरतासँगै आर्थिक असमानता र अराजकता बढिरहेको छ ।
मुद्रास्फीतिको मार त नेपालीहरूले वर्षौंदेखि खप्तै आएका छन् । आजभन्दा ७७ वर्ष अगाडि अर्थात् २००० साल मङ्सिर १ गते त्यस बखतका केहि वस्तुहरूको बजार भाउ हेरौंस् चामल मार्सी पाथीको १ रुपैयाँ, गेडा दाल ६ मानाको १ रुपैयाँ, आलु धार्नीको १० पैसा, घिउ पाउको २५ पैसा, चिनी पाउको १० पैसा, खसीको मासु पाउको १० पैसा, अन्डा गोटाको ४ पैसा, दूध मानाको १० पैसा, सुन तोलाको ६० रुपैयाँ, चाँदी तोलाको ६० पैसा ।
आज यी वस्तुहरूको बजार भाउ दाँजौ र मुद्रास्फीति नापौँ । अब दोषीहरूलाई दण्ड दिने बेला भएन र ?







