
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले ओलीले संसद विघटन गरेपछि मुलुकमा विकसित परिस्थिति नयाँ जनवादी क्रान्तिका लागि अझ अनुकूल बनेको बताएका छन् ।
माओको १२७ औं जन्मजयन्तीको अवसरमामा बोल्दैं महासचिव किरणले संसदको पुनस्र्थापना, संसदको निर्वाचन वा पुनरुत्थानवादीहरुबाट मुलुकमा विद्यमान समस्याको समाधान हुन नसक्ने भन्दै राष्ट्रियता, जनतन्त्र र जनजीविका लगायतका समग्र समस्याहरुको समाधानका लागि संघीय जनगणतन्त्र अपरिहार्य बनेको विश्लेषण प्रस्तुत गर्नुभयो ।
माक्र्सवाद–लेनिनवाद–माओवाद नमान्नेहरु कम्युनिस्ट क्रान्तिकारी हुन नसक्ने भन्दै सच्चा माओवादी नहुनेहरु सच्चा माक्र्सवादी र लेनिनवादी पनि हुन नसक्ने दाबी गर्नुभयो ।
महासचिव किरणले नयाँ जनवादी गणतन्त्रका पक्षधर शक्तिहरु अब एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
उनले छरिएर रहेका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याउने दायित्व आफूहरुको रहेको भन्दै विप्लव नेतृत्वको नेकपा, मसाल लगायतका पार्टीहरुसँग पार्टी एकताको लागि कुराकानी भइरहेको पनि खुलासा गरे ।







