हामी युवाहरू केही नेताहरूले दिएको चश्मा लगाएर दुनियालाई हेर्छौं । उनीहरूले दिमागभरि भरिदिएका बिम्ब, उपमा र सिद्धान्तहरूको सहाराले घटनाक्रमलाई बुझ्छौं । अनि भावोत्तेजनामा आएर उफ्रन्छौं । तर, हामी के बुझ्न चाहन्नौं भने नेताले हामीलाई दिएका ती सबै संज्ञानका औजारले हामी आम युवाको होइन तिनै नेताको मात्रै सेवा गर्छन् ।

अहिले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनबारे जसरी ‘कूू’, प्रतिगमन वा ज्ञानेन्द्रको शाही काल आदि ऐतिहासिक उपमा र बिम्बको प्रयोग गरेर ब्याख्या गरेका छन् प्रचण्ड र बाबुरामलगायतका नेताले, त्यो उनीहरूको व्यक्तिगत, गुटगत र पारिवारिक स्वार्थ हासिल गर्नको लागि ऐतिहासिक उपमाको दुरूपयोग हो भन्ने मलाई लागेको छ ।

प्रचण्ड प्रधानमन्त्री हुन नपाउनुलाई प्रतिगमन भनिन्छ ? मेरो प्रश्न हो यो । बाबुरामको प्रचण्डसित एकता गर्ने मन हो भने र पुरानो माया-प्रिति बल्झिएको हो भने प्रचण्डसित एकता गरेर चुनावमा गए भइगो नि ! किन सडकमा राँको बालेर आम नेपालीलाई दुख दिने ?

लोकतान्त्रिक गणतन्त्र स्थापना हामी सबैले लडेर भएको हो । त्यो प्रक्रियामा प्रचण्ड, बाबुराम र गिरिजाप्रसाद कोइरालाले नेतृत्व गर्ने मौक़ा पाएका हुन् ।कोइराला हामीबीच हुनुहुन्न । तर, त्यसपछि बाँकी दुईले जसरी गणतन्त्र आफ्नै खल्तीबाट आएको भन्ने भाष्य निर्माण गरेका छन्, त्यो सबभन्दा डरलाग्दो प्रतिगमन हो । त्यस्तो भाष्यबाट प्रचण्ड र बाबुरामलाई क्रान्तिका उप‍लब्धि बेचेर प्रधानमन्त्रीको कुर्सी किन्ने, आफ‍न्त र आसेपासेलाई पोस्ने सुविधा प्राप्त भयो।

केपी ओली वा अरू कसैले कुनै प्रतिगमन गर्न सक्ने परिस्थिति विध्दमान छैन आजको नेपालमा। सं‌सद विघटन र चुनावको आह्वान संसदीय फोहोरी खेलकै एउटा अभिन्न अङ्ग हो । संसदीय नालीमा पसिसकेपपछि कपडामा आची लाग्यो भनेर गुनासो गर्ने सुविधा प्रचण्ड, बाबुराम वा अरू कसैलाई हुन सक्दैन। यो व्यवस्था मान्नेले अदालतको फैसला पर्खनु पर्छ ।

होइन सत्ता कब्जा चाहेको हो भने विप्लवलाई नेता माने भैगो ! गौरवगाथा र व्यक्तिगत, पारिवारिक एवम् गुटगत स्वार्थका लागि जुनसुकै हदसम्म नजानुहोस् भूतपूर्व सुप्रिमो । यस्तै पारा हो भने शान्ति, स्थायित्व र आर्थिक विकासको पूर्वशर्त प्रचण्डको राजनीतिक अवसान हो भन्ने दिन आउन सक्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार