पछिल्लो समयमा चीनको अमेरिका र भारतसँग द्वन्द्व बढ्दै गएपछि नेपालमा चीनको झनै चासो बढेको छ । भारतसँग बढ्दो द्वन्द्वका कारण पनि चीन नेपालमा आफू अनुकुलको बलियो सत्ता चाहन्छ ।

विशेषतः नेपाललगायत दक्षिण एसियाका साना मुलुकहरु भारत–अमेरिका गठबन्धनमा तानिन सक्नेमा चीन चिन्तित देखिन्छ । त्यसैले उसले दक्षिण एसियाली मुलुकहरुमा ‘दी फाइभ पार्टीज’ अवधारणा पनि ल्याएको छ । नेपालमा कम्युनिष्ट बाहेक अन्य दलको सरकार हुँदा नेपाल प्रजातान्त्रिक धु्रवमा तानिने चीनको बुझाइ छ ।

नेपालमा भारत र अमेरिकालगायत पश्चिमा मुलुकहरुको राजनीतिक र सैन्य प्रभाव बढे आफ्नो सुरक्षा चासो संकटमा पर्ने चीनको बुझाइ छ । त्यो अवस्थामा आफ्नो ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ परियोजना पनि अगाडि नबढ्ने बेइजिङको बुझाइ देखिन्छ ।

त्यसैगरी काठमाडौंमा नेकपा बाहेक अन्य दलको सरकार हुँदा बीआरआई संकटमा पर्ने तर इन्डोप्यासेफिक रणनीति अगाडि बढ्ने भएकाले चीन त्यसलाई रोक्न चाहन्छ । बढ्दो भूराजनीतिक तनाबका वीचमा नेपाललगायत दक्षिण एसियाली मुलुकहरुसँग रक्षा सहकार्य बढाउन केही समय अगाडी चिनियाँ रक्षामन्त्रीले नेपालको भ्रमण गरेका थिए ।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच पछिल्लो वर्षहरुमा झाँगिदै गएको सम्बन्धलाई भारत र अमेरिकाले सतर्कताका साथ नियालिरहेका छन् । नेकपा नेतृत्वको सरकार चीनतिर ढल्किदै गएको र आफूहरुसँगको सम्बन्धले प्राथमिकता नपाएको उनीहरुको बुझाइ छ ।

‘चीनले सत्तारुढ नेकपाभित्र एउटा ककस नै बनाएको छ, जसले भविश्यमा ठूलो आकार लिन सक्छ भन्नेमा भारत र अमेरिका चिन्तित देखिन्छन्’, एक विज्ञले अनलाइनखबरसँग भने ।

नेपाल मामिला नियालिरहेका भारतीय विज्ञ निहार नायक चीनले नेकपालाई एकीकृत राख्न खोजेको बताउँछन् । ‘यसको अर्थ ऊ नेपालमा एकदलीय कम्युनिष्ट पार्टी स्थापना गर्न चाहन्छ’, उनी भन्छन्, ‘तर, नेकपा विभाजित भएपछि आफ्नो चाहनामा धक्का लागेर बेइजिङ राम्रैसँग चल्मलाएको देखिन्छ ।’

विज्ञहरुका अनुसार चीनले केही वर्षयता लगानी निकै बढाएको छ र उ अन्य केही दीर्घकालीन परियोजनाहरुमा लगानी गर्ने मुडमा छ ।

त्यसका लागि उसले नेपालमा आफू अनुकुलको सरकार अथवा सबै राजनीतिक दलहरुको सहमति खोजेको छ । त्यसैले पनि पछिल्लो समयमा चीनले बीआरआईका सम्बन्धमा सबै दलहरुलाई एकै ठाउँमा ल्याउने प्रयास गरिरहेको छ । केही हप्ता अगाडि चीनले नेपालका सबै राजनीतिक दलका नेताहरुलाई राखेर एक छलफल गरेको थियो ।

परराष्ट्रविद मिलन तुलाधर भन्छन्, ‘धेरै पहिलादेखि नै उनीहरुको विशेष चासो राजनीतिक स्थिरता नै छ । नेपालका राजनीतिक स्थिरता भएका सहयोग गर्न चाहन्छौं, तर स्थिर नभई हामीले सहयोग गर्न सक्दैनौं भन्नेखालका कुरा उनीहरुले हामीसँग गर्छन् ।’

‘नेपालमा राजनीतिक स्थिरता भएन भने एउटाले सम्झौता गर्ने, अर्काेले तोड्ने काम गरे के गर्ने भन्नेखालका कुरा चिनियाँहरुले पहिला–पहिला पनि गर्ने गर्दथे’ तुलाधरले अगाडि भने, ‘नेपाल र चीनको सम्बन्ध बलियो बनाउन स्थिरता पनि एक महत्वपूर्ण पक्ष हो । उनीहरुले बीआरआई मार्फत लगानी गर्ने योजना बनाएका छन् । रेल ल्याउन खोजिरहेका छन् , यो सानो लगानी होइन ।’

चिनियाँ विज्ञहरुले नेपालमा आफ्नो लगानी ठूलो रहेकाले यहाँ भएका राजनीतिक घटनाक्रमका बारेमा चासो राख्नु मनासिब भएको प्रतिक्रिया दिएको स्रोतको भनाइ छ ।

चीनको फुदान विश्वविद्यालयका प्रोफेसर लिन मिनवाङले चीनको सरकारी पत्रिका ग्लोबल टाइम्ससँग भनेका छन्, ‘चीनले प्रस्तावित वेल्ट एण्ड रोड परियोजना अनुसार नेपालमा धेरै ठूलो लगानी र एकदमै गहन सहकार्य गरेको छ ।’ त्यसैले एउटा छिमेकीको हिसाबले नेपालको आन्तरिक अवस्थाको बारेमा चासो राख्नु र अन्तरपार्टी सहकार्य अनुसार आफ्ना साझेदारलाई सहयोग आदान–प्रदान गर्नुका पछाडि मनासिब कारणहरु रहेका छन् ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार