
विश्व सर्वहारा वर्गको
प्रतिनिधित्व गरेको
लालझन्डा
श्रमले पट्पटि हत्केला
चर्किएका
शासकीय व्यवस्थाले
लुटेका
श्रमजीवी, भोका
पेटहरूसँग
वर्गीय सम्बन्धको दावा
गरिरहने लालझण्डा
दलित ,जनजाती, महिला,
किसान समस्त
उत्पीडित र
श्रमजीवीहरूलाई एउटै
मैदानमा गोलबद्व गर्दै
लैङ्गिकता, जातीयता र
वर्गीयताको वकालत गर्दै
दलाल, सामन्त र विश्व
पुँजीवादको अघि
एक चुनौती बनेर
फरफराइरहेको
लालझण्डा
ईश्वरको घर भनिने
मन्दिरका सिँढी र
द्वारहरूबाट निस्कने
विभेद, शोषण र
अत्याचारको प्रदूषणको
प्रतिबन्धक बन्दै
समस्त ढोङ र
पाखण्डहरूलाई
चेतावनी दिँदै
निरन्तर धर्मको
अफिमसँग युद्ध
लडिरहने लालझण्डा
वर्गीय मुक्तिको बाटोमा
समाजवादको सपना
बनेर
सिमान्तहरूको आँखाको
नानी बन्दै
आशातीत एक तारा बनेर
चम्किरहने लालझण्डा
गरिवका झुपडीहरूमा
परिवर्तनको भरोसा बन्दै
रोल्पा-रुकुम सुदूर बिकट
बस्तिको मुटुबाट प्रेमको
धरोहर बनेर
मुस्कुराइरहने लालझण्डा
हो त्यही लालझण्डा
श्रमजीवी,सर्वहारा,
समाजको पिँदमा
दविएका, निम्न वर्ग
भुईमान्छेहरूको
आसाको सितारा
लालझण्डा
इतिहासमा हजारौं
योद्धाको रगतले
रक्तरन्जित लालझण्डा
सहिदको घाइते छातिमा
गर्वका साथ ओढाइएको
लालझण्डा
आज किन
फरफराइरहेको छ
महलको धुरी हुँदै
सहरका सडक र चिल्ला
गाडिहरूमा
कुलीन, नव दलाल, नव
सामान्त, ढोगी, पाखण्डी
पुँजीवादका अनुयायी,
संशोधनवादी, अवसरवादीहरूको हात
हातमा यति धेरै कुरुप
दृश्य बनेर ?
किन फरफराइरहेछ
फोहोरी निकृस्ट
हातहरूमा
किन बनाइदैछ तिम्रो
गरिमा धराशायी
मेरो प्रिय लालझण्डा !!







