मोहन वैद्य नेतृत्वको माओवादीले केपी ओलीद्धारा संसद विघटनको कदमलाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरंकुशतावादी र फासीवादी कदम भएको टिप्पणी गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यद्धारा जारी विज्ञेप्तीमा प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा संकटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको परिणाम भएको जनाइएको छ ।

महासचिव वैद्यले आज जारी गरेको विज्ञप्तिमा वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको संकटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै नसक्ने उल्लेख छ । ‘यस संकटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, संघीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ,’ विज्ञप्तिमा भनिएको छ ।

देशमा आन्तरिक तथा बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको निष्कर्ष निकालेको नेकपा ९क्रान्तिकारी माओवादी०ले देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको जनाएको छ ।

यस स्थितिमा वर्तमान संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति संघीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढंगले संघर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित महासचिव किरणले अपिल गरेका छन् ।

प्रेस–वक्तव्य
१४ पौष २०७७मा सम्पन्न स्थायी समितिको बैठकमा यही पौष ५ गते गरिएको संसद विघटन र मध्यावधि निर्वाचन सम्बन्धी घोषणाबारे आवश्यक छलफल गरी गरिएको निर्णय प्रेस–वक्तव्य मार्फत् निम्नानुसार सार्वजनिक गरिएको छ ः
१. प्रधानमन्त्री ओलीद्वारा गरिएको संसद विघटनको यो कदम आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा सङ्कटग्रस्त बन्दै गएको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, व्यवस्था र संविधानको असफलताको द्योतक तथा परिणाम हो । साथै, यो गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फासीवादी कदम पनि हो ।
२. वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थामाथि पैदा भएको यस प्रकारको सङ्कटको निकास मध्यावधि निर्वाचनद्वारा हुनै सक्दैन । यस सङ्कटको वास्तविक निकास वर्तमान राज्यसत्ता तथा व्यवस्थाको अन्त्य, सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवम् सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुन सक्तछ ।
३. आज देशमा आन्तरिक तथा वाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुको चलखेल तीव्र रुपमा बढ्दै गएको छ । देशको राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाको सुनिश्चितताको प्रश्नमा गंभीर खतरा उत्पन्न भएको छ । यस स्थितिमा हाम्रो पार्टी वर्तमान सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका निम्ति सङ्घीय जनगणतन्त्रको स्थापनार्थ कार्यगत एकता तथा संयुक्त मोर्चा गरी सशक्त तथा प्रभावकारी ढङ्गले सङ्घर्षमा उत्रन सबै देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित विशेष अनुरोध गर्दछ ।
मिति ः १६ पुष २०७७

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार