सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी राजनीतिक रुपमा विभाजित भएपछि कानुनबाट फरार रहेका पूर्व माओवादीका डिभिजन कमाण्डर कालीबहादुर खामका लागि फलिफाप हुने भएको छ।

रामेछापका रामहरी श्रेष्ठको हत्याकाण्डमा मुछिएर १२ बर्षदेखि फरार रहेका खाम ओली समूहमा लाग्ने भएपछि उनको मुद्धा पनि सहजीकरणतर्फ उन्मुख हुने देखिएको छ।

बुधबार सुदुरपश्चिम प्रदेशको नेता कार्यकताहरुको भेलामा प्रधानमन्त्री ओलीले कालीबहादुर खामको नाम लिएसँगै बेलुकी वालुवाटारमा भेटघाट भएको थियो ।

उच्च सुरक्षा स्रोतका अनुसार खाम र अर्का डिभिजन कमाण्डर धनबहादुर मास्कीले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका थिए । ओलीले प्रचण्डलाई देखाउनकै लागि भएपनि खाम लगायतको पूर्व माओवादीको टोलीलाई आफ्नो समूहमा प्रवेश गराउने तयारी गरेका हुन् ।

प्रहरीको खोजी सूचीमा रहेका खामलाई भेट गराउने चाजोपाँजो भने गृहमन्त्री समेत रहेका रामबहादुर थापाले गरेका थिए । ‘गृहमन्त्रीज्यूकै गाडीमा खाम आएका थिए प्रधानमन्त्रीलाई भेटेर गए’, वालुवाटारस्थित एक प्रहरी अधिकृतले भने । प्रहरीको सूचीमा उनी अझै फरार रहेका छन् ।

पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डरहरु युगान्त, अर्जुन, उषाकिरण साथै रोल्पा जिल्लाका पुराना नेता रेशम पुन चट्याङ, बि बि खराल, दुर्गा पोख्रेलसँगै खाम पनि गृहमन्त्रीलाई भेट्न पुगेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार