
केपी ओली समुहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड आफैं सडकमा पुगेको बताएका छन्।
‘ढाडमा टेकेर टाउकोमा हान्ने नीति सधैं सफल हुँदैन’, उनले भने, ‘यसपटक कमरेड प्रचण्ड फस्नुभयो।’
चितवनमा आफ्नो समुहको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पूर्व एमाले भित्रको अन्तर्विरोधमा खेल्न खोज्दा प्रचण्ड फसेको बताए।
सडकमा निस्कँदा जनताले साथ देलान् भन्ने सोचेका प्रचण्डलाई आफ्नै कार्यकर्ताले साथ नदिएको दाबी गरे।
उनले जनताले साथ नदिएपछि विदेशीसँग हारगुहार गर्न थालेको बताए।
‘उहाँ विदेशीको सहयोग चाहियो भन्न थाल्नुभएको छ’, पोखरेलले भने, ‘प्रधानमन्त्रीलाई नक्कली राष्ट्रवादी भनेर आरोपपत्र पेश गर्ने व्यक्तिको राष्ट्रवाद सबैले देखिरहेका छन्।’
प्रचण्ड चुनावसँग डराएर हरेकचोटि निर्वाचन क्षेत्र परिवर्तन गर्ने गरेको आरोप लगाउँदै उनले अबको निर्वाचनमा चितवन पनि छाड्ने दाबी गरे।
उनले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्ने दाबी गरे। ‘यद्यपि हामी अदालतको निर्णयको सम्मान गर्छौं,’ उनले भने।







