
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै सबै राजनीतिक दल, नागरिक समाज तथा बुद्धिजिवीहरु सडकमा छन् ।
ओलीले पुस ५ गते संसद विघटन गरेकै दिन जनमत पार्टीका केन्द्रीय सदस्य मोहम्मत अब्दुल खानले विज्ञप्ति जारी गरी संसद विघटनको घटनालाई ‘दुःखद्’ भनेका छन् । तर त्यसपछि प्रधानमन्त्री ओलीको सो कदमका विरुद्ध जनमत पार्टी रहस्यमय रुपमा मौन बसेको छ । बरु सो पार्टी जोडतोडका साथ चुनावको तयारीमा लागेको छ ।
ओलीको देशव्यापी रुपमा विरोध भइरहेको अवस्थामा जनमत पार्टीले प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थितिबारे एक शब्द पनि नबोल्नुले मधेसमा प्रधानमन्त्री ओलीलाई सो पार्टीले सघाइरहेको पुष्टि भएको जानकारहरु बताउँछन् ।
‘संसद विघटन हुनु दुःखद् हो तर एकातिर नयाँ जनादेशको लागि मौका आएको पनि कुरा सही हो,’ सो पार्टीका नेता चन्दन सिंहले भने, ‘जे हुनु थियो, भयो । त्यो दुःखद् भयो तर अब चुनावको तयारीमा लाग्नुपर्छ, जनमत पार्टी चुनावको तयारीमा लागिसकेको छ ।’
उनले नयाँ जनादेशका लागि डराउनु भनेको लोकतन्त्रको उपहास हुने बताए । लोकतन्त्रमा नयाँ जनादेशबाट डराउन नहुने उनको भनाइ छ ।
जनमत पार्टीका एकजना नेताले प्रधानमन्त्री ओली आफ्नो पार्टीका नेता सिके राउतको सम्पर्कमा रहेको बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले मात्र होइन, उनका पार्टीका अन्य नेताहरुले पनि सिके राउतसँग नियमितजसो सम्पर्क गरिरहेका हुन्छन् ।
नेपालबाट मधेसलाई अलग गरेर छुट्टै देश बनाउनुपर्ने भन्दै सिके राउतले लामो समय अभियान नै सञ्चालन गरेका थिए । सोही अभियानको क्रममा उनी पक्राउ परेका थिए । उनी जेलमै रहेका बेला प्रधानमन्त्री ओलीले उनीसँग सहमति गर्दै उनलाई आफ्नो पक्षमा पारेका थिए ।
सिके राउतले त्यही बेला नै विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आउने निर्णय गरेका थिए । सरकारसँग सम्झौता भएपछि बाहिरिएका सिके राउत त्यसयता निरन्तरजसो प्रधानमन्त्री ओलीको सम्पर्कमा रहेको बताइन्छ ।
हुन पनि, सरकारसँग सहमति गरेर राष्ट्रिय राजनीतिको मूलधारमा आए यता सिके राउतले प्रधानमन्त्री ओलीको आलोचना कहिल्यै गरेका छैनन् । जबकि, अलग मधेस बनाउने अभियानमा लागेको बेला सिके राउतले सबैभन्दा बढी आलोचना प्रधानमन्त्री ओलीकै गर्थे ।
देशमा यस्तो राजनीतिक दुर्घटना हुँदासमेत जनमत पार्टीका अध्यक्ष राउतले आफै विज्ञप्ति जारी नगरी एकजना केन्द्रीय सदस्यबाट विज्ञप्ति जारी गराउनुले पनि राउतले ओलीलाई समर्थन गरेको पुष्टि भएको जानकारहरु बताउँछन् ।
पछिल्लो समय यी तीनै केन्द्रीय नेताहरु मधेसमा संगठन निर्माणका लागि केन्द्रित भएका छन् । खासगरी उनीहरु प्रदेश २ मा दिनहुँजसो केही न केही राजनीतिक गतिविधि गरिरहेका हुन्छन् ।







