
तानाशाह विचारसँग डराउछ
र बन्ध्याकरण चाहन्छ उदीयमान सोचहरूमा !
तानाशाह चेतनासँग पनि डराउछ
र प्रतिबन्ध लगाउछ प्रश्नहरूमा !
तानाशाहलाई लगाव छ झुकेका आँखाहरूसँग
ऊ फगत त्रास दिन्छ, तर स्वयं भयभीत छ
युद्धको निम्ति तमतयार आँखाहरूलाई
नेलको आकार बताउछ, जेलको बाटो देखाउछ !
तानाशाह भन्छ –
ए भिडहरू हो ! ए दासहरू हो !
म चुट्किला सुनाउछु, तिमीहरू मात्र हाँसिराख
सधै यसैगरी मेरो लयमा नाचिराख !
दासहरू हाँसिरहन्छन्
दासहरू नाचिरहन्छन् !
ऊ भन्छ –
तिमीहरू ताली बजाउ, तर मुठ्ठी नउठाउ
मलाई उठेका मुठ्ठीहरू होइन लत्रीएका हातहरू मन पर्छ !
मलाई विद्रोही भाका होइन, भक्तिगान मन पर्छ !
तिमीहरू मात्र अनुमोदन गर नामन्जुर नगर !
तिमीहरू मात्र स्वीकार गर बहिष्कार नगर !
दासहरू ताली बजाइरहन्छन्
दासहरू भक्तिगान गाइरहन्छन्
दासहरू अनुमोदन गरिरहन्छन् !
दासहरूकै भिडमाथी दम्भले उभिएर
आफ्नो शक्तिको अहँकार गर्दै
दासहरूकै फेहरिस्तमा झन् बलियो बनेर उभिन्छ तानाशाह !
तानाशाह नियन्त्रण चाहन्छ दासहरूको चेतनामाथी
शून्यता चाहन्छ दासहरूको मथिङ्गलमाथी !
दासहरू भने सत्ता र शक्तिको लालचमा नतमस्तक बनिरहन्छन्
र उनीहरूमै निरन्तर बाँचिरहन्छ तानाशाह !
किनकी आजका दासहरू स्पार्टाकस होइनन्
ग्लौडिएटर होइनन्
मात्र दास हुन् दास
आधुनिक दासहरू तानाशाह हुर्काइरहन्छन्
उनीहरू विद्रोह गर्दैनन् !!







