
शहीदको रगतले धप्प बल्दै
द्वन्दको चम्किलो जलपमा
अन्तरबिरोधको किरण लिएर
पेरिसबाट उदाएको रातो तारा ,
ज्वाजल्यमान,प्रलयकारी भुकम्प झैँ
अस्वस्थ संसार हल्लाउँदै,थर्काउँदै
कालो निष्पट अँध्यारो चिर्दै
लाल्सागरमा उज्यालिएको रातो तारा ,
आल्पसको टाकुरा रङ्याउदै
स्टेप अनी साइबेरियामा
ध्रुबतारासँगै उदाएको त्यो दिनदेखि
आफ्नो कक्षमा फन्को मार्दै
अफ्ठ्यारा र अंध्यारा छिँडीहरुमा
जहाँ रबी पुगेका थिएनन युगौंदेखी
न्यायको किरणले रङ्याउदै पोत्दै
बस्तिबस्तिमा चक्कर लगायो
सभ्यताको प्रतिक रातो तारा ,
निर्धाको श्वासप्रश्वाससँगै
न्यानो तापले प्रकाशस्नान् गराउँदै
युरोप,यसिया र ल्याटिन हुँदै
हिन्दसागरको छालसँगै
घुमीरह्यो अबिराम रातो तारा
बृतीको गडबडिले केही क्षण
बादल अनी हुस्सुले ढाके पनि
सत्य र आस्थाहरुसँग मितेरी लगाउँदै
सहिरुपबाट अन्तरबिरोधहरुलाई
अफ्ठ्याराहरुबिच संचालन गर्दै
चिन,भियत्नाम , कोरियन प्रायद्विप हुँदै
सगरमाथा देखी एन्डिजसम्म मुस्कुराइ रहेछ
चोखो प्रकाशले स्नान् गराउँदै
फोहर विषाक्त किराहरुलाई
सधैं सधैंको निम्ती मिल्काउँदै
झिल्की रहेछ बिजुली जस्तै
यो बिज्ञानको प्रतिक रातो तारा,
प्रतिबादको आत्मा भित्र
गर्जन भित्रको दुखाइ भित्र
अन्तरबिरोधको कक्षलाई
पसिनाको रङले रङ्याउदै
मरुभुमीमा फुल फुलाउनको लागि
मुटुहरुलाई एकाकार गराउँने
पदार्थ भित्रको कला हो यो
उर्जाको भट्टि रातो तारा,
त्यसैले विश्वास छ
स्वर्गमा धावा बोल्न
नयाँ जगको निर्माण गर्दै
नांगाहरुको मन मंचलाई
शुक्ष्म कलाले बिभुसित गर्दै
डुलिरहनेछ सातै महामुलुक
समुन्द्रको छालसँगै
आस्थाको प्रतिक रातो तारा,
आज, आत्माको गहिराइबाट ब्युझिदै छ
सहीदको सपनामा सँगै मुस्कुराउँदै छ
अन्धकारसँग खेली रहेछ
डुलिरहेछ भुमन्डल भरी
चाहरी रहेछ झुप्रा झुप्रा
रङ्याइ रहेछ हरेक आँगन
आशाको प्रतिक रातो तारा ।।







