
विप्लवहरूसँग सहकार्यको कत्तिको सम्भावना छ ?
सम्भावना छ । कुराकानी भइरहेको छ । तर, उहाँहरूका केही कमी–कमाजोरी सच्याउनुपर्छ । सरकारले विप्लवहरूमाथिको प्रतिबन्ध लगाउनु गलत हो । किनभने उनीहरू सेना–प्रहरीसँग भिडेका छैनन् । हानि–नोक्सानी पु¥याएका छैनन् ।
प्रचण्डहरूसँग एकता हुने सम्भावनाचाहिँ कत्तिको छ ?
प्रचण्डजीका कुरा गरिसाध्य छैन । उहाँ उल्टोसुल्टो दुवैतर्फ छलाङ मार्नुहुन्छ । उहाँ संसद्वादी, हामी क्रान्तिकारी । यसैले सहकार्य वा एकता हुने कुरै आउँदैन । अँ उहाँले देश र जनतामाझ ‘म सच्चिएँ, अब संसदीय भासमा जान्नँ’ भनेर कसम खाएर आउनुभयो भनेचाहिँ हामी स्वीकार गर्छौँ । जहाँसम्म भूमिगत हुँदा प्रचण्डसँग मिल्नुभएकै थियो अहिलेचाहिँ किन दूरी भन्ने कुरा छ, भूमिगत हुँदा हामी नयाँ राज्यसत्ता स्थापनाका लागि लडेका थियाैँ । तर, उहाँहरू संसदीय व्यवस्थामा भासिएपछि हामी अलग भएका हौँ ।
गणतन्त्र रक्षाका लागि संयुक्त मोर्चा बनाउने सम्भावना कत्तिको छ ?
गणतन्त्र मात्र नभनौँ जनगणतन्त्रको स्थापनाका लागि संयुक्त मोर्चा बन्ने सम्भावना छ । क्रान्तिकारीहरू एक भएर मोर्चा बनाउन सकिन्छ । अहिले शान्ति र सुशासन छैन । प्रतिगमन हाबी भएको छ । जनताले प्राप्त गरेका आंशिक उपलब्धिहरू मास्ने काम भइरहेको छ । तर, जनताले रूपान्तरण चाहिरहेका छन् । जनता अस्तव्यस्त शासन सत्ता रुचाउँदैनन् । मलाई लाग्छ– अब डबल नेकपाभित्रबाट पनि धेरै क्रान्तिकारीहरू संघर्षमा सामेल हुन आउनुहुनेछ । अब चुनावबाट केही गरौँला भन्ने सपना पूर्ण असफल भइसक्यो, यसैले प्रतिगमनकारी र संसद्वादीबाहेककासँग मोर्चा बन्न सक्छ ।
भूमिगतकालदेखि साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि प्रचण्डको साथ छाडेर ओलीतिर गए नि, किन होला ?
बादल प्रचण्डसँग रहनु र ओलीतिर जानुमा कुनै अचम्म मानिरहनुपर्दैन । किनभने सत्ता र स्वार्थका लागि यो नौलो कुरै होइन । बादलले जता कुर्सी पाए उतै गए । फेरि प्रचण्ड र ओलीमा खासै फरक पनि त छैन । फरक यत्ति हो, ओली पार्टीभित्र पनि निरंकुशवाद हाबी गराउँछन् ।







