अहिल्यै समाजवाद ल्याउने त्यस्तो जादुको छडी तपाईंहरुसँग के छ ?

जादुको छडी होइन, विचारको कुरा हो । पुँजीवाद उत्पादनकर्ता र उपभोगकर्ताको बीचमा सम्बन्ध विच्छेद गरेर टिकेको हो । यो सम्पूर्ण सेना, पुलिस, अदालत सबै किन बनाएको भन्दा उत्पादक र उपभोक्ताकर्ताका बीचमा सम्बन्ध विच्छेद गरेर वीचमा बस्न । र, फेरि भाऊ त्यसैले तोक्छ । जसले उत्पादन गर्दैन, उपभोग गर्दैन भाउ त्यसले तोक्छ ।

तपाईंले गोलभेँडा उत्पादन गर्नुहुन्छ मैले काउली उत्पादन गर्छु । हामी छिमेकी हौँ । गोलेभेँडा बेच्न तपाई कालिमाटी बजार जानुहुन्छ । म काउली लिएर कालिमाटी बजार जान्छु । त्यही काउली घुम्दै घुम्दै तपाईंकहाँ आइपुग्छ, त्यही गोलचक्करमा घुम्दाघुम्दै मकहाँ आइपुग्छ । तपाईंले १० रुपैयाँमा बेचेको गोलभेँडा मैले ४० रुपैयाँ तिरेर किन्नुपर्छ । ३० रुपैयाँ कसले खायो ? तपाईं र मैले साटेको भए २० मा खान्थेँ नि । यसले आम्दानी बढ्यो र मेरो खर्च घट्यो । त्यहाँ गर्ने भनेको एउटा मात्र कुरा हो– हाम्रो वीचमा जुन पुँजीवाद बसेको छ, त्यसलाई हटाइदिऔँ ।

दुनियाँमा मान्छेको सातवटा आवश्यकता छ । पहिलो खाना, दोस्रो बास, तेस्रो बस्त्र, चौथो औषधी उपचार, पाँचौँ शिक्षा, छैटौँ मनोरञ्जन र सातौँ त्यसलाई व्यवस्थापन गर्ने काम । सातजना यो कुर्सीमा बस्छौँ हामी । किनकि यो सबै उत्पादन त सेना, पुलिस, न्यायाधीश, राजनेताले गर्दैन । हामीले गर्ने हो । मलाई कपडा चाहियो तपाईंले बनाउनुभएको छ भने मलाई दिनुहुन्छ । मासु मसँग छ, तपाईंलाई दिन्छु । किन चाहियो पुँजीवाद ? हामीले त्यसो गर्न थालेपछि त्यो पुजीँवादले हामीसँग नगर भन्न आउँछ । किनकि उसको नाफा हुँदैन । त्यसपछि हामी गर्छौँ भनेर लड्नुपर्छ । समाजवाद बनाउन थाल्यो भनेपछि हाम्रा नेता कार्यकर्ता मार्न आउँछ । टोले गुण्डा, पुलिस, सशस्त्र र सेना लगाएर हाम्रो समाजवाद भाँड्न आउँछ । त्यसपछि हामी लड्ने सत्ता बनाउनुपर्छ र हामीले बनाएको समाजवादको निम्ति प्रतिरोध गर्न सशस्त्र संघर्ष अनिवार्य हुन्छ । संसारभरिको शोषक वर्ष करोडौं अरब खर्च गरेर मान्छे मार्ने साधन लिएर बसेको छ । त्यसै क्रान्ति हुन दिन्छ ।

नेपालमा यति धेरै कम्युनिष्ट पार्टी छन् । कम्युनिष्टकै सरकार छ । फेरि तपाईंलाई अर्को नयाँ पर्टी खडा गर्ने के त्यस्तो बाध्यता आइपर्‍यो ?

नेपाली कम्युनिष्ट आन्दोलनका ७०/८० वर्षले केही उपलब्धी दिएका छन् र केही समस्याहरु पनि छन् । यसको एउटा मुख्य पंक्ति नेकपा नेकपाको रुपमा पतन भयो । त्यो भनेको कम्युनिष्ट आन्दोलन पतन भएको हो । त्यो, पुँजीवादी पार्टीमा रुपान्तरण भएको हो । अर्को कुरा, व्यक्तिहरु बिग्रेका कारणले कम्युनिष्ट आन्दोलन बिग्रिएको भन्ने नेपाल र विश्व कम्युनिष्ट आन्दोलनको जुन निष्कर्ष छ, त्यो गलत छ । व्यक्तिहरु बिग्रेका हुन्, तर, बिग्रनु परिणाम मात्रै हो । कारण होइन । कारणचाहिँ मार्क्सवादी विचारमा विकास नभएको हो ।

विशेषतः माओ त्सेतुङको मृत्युपछि मार्क्सवादमा विकास छैन । त्यसैले, नेपालमा कम्युनिष्ट आन्दोलनको जुन हविगत छ, त्यो विचारमा विकास हुन नसकेकाले नै हो । सन् १९५९ को क्युवाली क्रान्तिपछि संसारभर कम्युनिष्ट क्रान्ति छैन, प्रतिक्रान्ति मात्रै छ । त्यसकारणले हामीले एक थान पार्टी बनाउने नारा बनाएर मात्र होइन कि मार्क्सवादमा विकाससहित हामीले एउटा दिशा दिन सक्यौँ भने पार्टी गठन गर्नुको अर्थ छ । त्यसैले, हामीले चार/पाँच वर्ष अगाडिदेखि पहिलेका पार्टीमा पनि छलफल शुरु गरेका हौँ । तर, उसको औचित्य सकिएपछि हामीले अर्को पार्टी निर्माण गरेका हौँ । मार्क्सवादमै नयाँ निश्कर्षसहित अगाडि बढेर मात्रै हामीले कम्युनिष्ट आन्दोलनलाई फेरि नयाँ शिराबाट अगाडि उठाउन सक्छौँ । लेनिनहरुले व्याख्या गरेको युगको अन्त्य भयो, नयाँ युगको प्रारम्भ भैसक्यो । त्यसैले, पुरानो युगको रणनीतिअनुसार लडेर अब कम्युनिष्ट आन्दोलन जितिँदैन ।

नेपालका संवैधानिक व्यवस्थामा हरेकपटक परिवर्तन हुन्छ र सामाजिक जात व्यवस्थामा आधारित संरचना ज्युँदै हुन्छ । बनाउँदै गयौं, अन्ततः जात व्यवस्थाजस्तै पार्टी बन्छ । त्यसकारणले दक्षिण एशियाको वर्ग संघर्षलाई जात व्यवस्थाबाट अलग गरे हेर्नुहुँदैन

दोस्रो कुरा, अबको समाजमा १०/१५ वर्ष लगाएर केन्द्रीय सत्ता कब्जा गर्ने अनि देशव्यापी समाजवाद गराउने पुरानो युगको नीति लागु हुँदैन । अहिलेदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था बनाउन शुरु गर्नुपर्ने हुन्छ । पुँजीवादको विकल्प र समानान्तरमा बनाउनुपर्ने हुन्छ । त्यसको मतलव हो, एउटै भूगोलमा दुई वटा व्यवस्था हुन्छ । एउटा पुँजीवाद, अर्को समाजवाद । समाजवादले बहुसंख्यकको न्यायको पक्षमा, विज्ञानको पक्षमा भूमिका खेल्छ । अन्त त समाजवादले पुँजीवादलाई ध्वंश गर्नुपर्छ । हिजोजस्तो एक देशमा क्रान्ति गर्ने र त्यसलाई फैलाउँदै लाने भन्ने पनि सम्भव छैन । किनकि हिजो दुश्मनहरु त्यति छिटो दमन गर्न पुग्ने विज्ञान आएको थिएन, पुँजीवादीहरु एक आपसमा लड्थे । मिल्दैनथे । तर, आज पुँजीपतिहरु एक ढिक्का छन् । २८/३० देश मिलेर हान्छन् । एक ठाउँमा हान्नुपर्‍यो भने पाँच मिनेटमा फाइटर प्लेन पुगिहाल्छ ।

त्यसैले, अहिलेदेखि नै वैज्ञानिक समाजवादी व्यवस्था नै बनाउने हो । त्यो सत्ता मात्र होइन । त्यसको अर्थतन्त्र पनि बनाउने हो, त्यसको संस्कृति पनि बनाउने हो । सिद्धान्त दर्शन राजनीति त हुन्छ हुन्छ । अनि त्यो अर्थतन्त्र समाजको रक्षाको निम्ति, प्रतिरोधको निम्ति संघर्ष गर्छ । त्यसपछि राज्यसत्ता पनि चाहियो । त्यसरी सिंगो व्यवस्था नै बनाउँदै जानुपर्छ ।

तेस्रो कुरा, नेपाली समाजको बनावटका बारेमा कम्युनिष्ट आन्दोलनले ठीक विश्लेषण गर्न सकेन । खासगरी दक्षिण एसियामै । यहाँको सर्वहारा वर्ग भनेको मजदुर, भूमिहीन किसान वा गाउँका सर्वहारा हुन् । औद्योगिक सर्वहारा त थिएनन् । त्यसैले, दक्षिण एसियाको हकमा एउटा मुख्य सर्वहारा दलित हो । सर्वहाराभन्दा कैयौँ अर्थमा त्यो दासत्वमा छ । भनेपछि, यो समुदाय क्रान्तिको अघिल्लो पंक्तिमा आउनुपर्छ ।

नेपालका संवैधानिक व्यवस्थामा हरेकपटक परिवर्तन हुन्छ र सामाजिक जात व्यवस्थामा आधारित संरचना ज्युँदै हुन्छ । बनाउँदै गयौं, अन्ततः जात व्यवस्थाजस्तै पार्टी बन्छ । त्यसकारणले दक्षिण एशियाको वर्ग संघर्षलाई जात व्यवस्थाबाट अलग गरे हेर्नुहुँदैन । यो ठाउँको लोकतान्त्रिक या कम्युनिष्ट आन्दोलन जात व्यवस्था विरोधी हुनुपर्छ । अनि समाजवाद आउँदा पनि जात व्यवस्था नभएको समाजवाद आउँछ भनेर हामीले अर्को निश्कर्ष निकालेका छौँ । आधारभुत विश्व कम्युनिष्ट आन्दोलनलाई नै अगाडि बढाउने निश्कर्षसहित संगठनको निर्माणमा पनि नयाँ निश्कर्षमा छौँ । अहिलेसम्मको संगठन पिरामिड आकारको बन्यो । जुन पुँजीवादले सिर्जना गरेको हो । सबैभन्दा थोरै मानिसले शासन गर्नका लागि बनेको हो । कम्युनिष्टहरुले त बहुसंख्यक मानिस, श्रमिकहरु शक्तिशाली बन्ने भनेका छन् । बहुसंख्यक शक्तिशाली बन्न त निर्णय गर्ने अधिकार पनि बहुसंख्यकमा हुनुपर्छ नि । त्यसकारणले पार्टी पनि हामीले छाल आकारको बनाउनुपर्छ ।

त्यसैले, तीन वर्षचाहिँ हामी प्रचारको अभियानमा थियौँ । सबैको दिमागलाई त पुरानै शासक अनुकुल ढालिएको छ । सबै नयाँ कुरा गर्नुपर्ने भएकाले एक चरण देश–विदेशमा हामी प्रचार गर्ने, विभिन्न भाषामा अनुवाद गरेर प्रचार गर्ने अभियानमा थियौँ । हामीले विचारको मात्रै प्रचार गर्ने भनेको त विभिन्न ठाउँमा उत्साहित भएर समिति नै बनाउन थाल्नुभयो । चार पाँच देशमै विस्तार भयो । सातै प्रदेशमा समिति बन्न पुग्यो । त्यसैले, हामीले यसलाई पार्टीको रुप दियौँ । संघर्ष र कार्यदिशा लागुगर्ने अब प्रकट हुन्छ ।

अनलाइनखबरले आहुतीसँग गरेको कुराकानीको सानो अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार