
संसद विघटन पछि व्यावहारिक रुपमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने तयारी गरेका छन् । आफ्नो अभियानले पार्टी एकतामा थप बल पुग्ने उनको भनाइ छ ।
नेता गौतमले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी औपचारिक रुपले अभियान घोषणा गरिने जानकारी दिएका छन् । निर्वाचन आयोगले आइतबार नेकपाबारे गरेको निर्णयले आफ्नो अभियानलाई थप बल पुगेको गौतमले बताएका छन् ।
आयोगले आइतबार आफ्नो धारणा सार्वजनिक गरेपछि अब पार्टी नेता तथा कार्यकर्ताको ध्यान सर्वोच्च अदालतको फैसलातिर रहेको उल्लेख गर्दै नेता गौतमले सर्वोच्चको फैसलापछि आफ्नो अभियान थप सशख्त पार्ने बताए ।
औपचारिकरुपमा घोषणा भएपछि पार्टीको ठूलो हिस्सा अभियानमा समाहित हुने विश्वास व्यक्त गरे । अध्यक्ष केपी शर्मा ओली पक्षका अधिकांश नेताहरु पार्टी एकताको पक्षमा रहेको आफूले भेटेको बताउँदै नेता गौतमले प्रचण्ड–माधव पक्षका नेताहरु पार्टी फोडेरै जानुपर्ने पक्षमा देखिएको बताए ।







