थालको भात
मुखसम्म आइपुग्छ
हातले बल गरेपछि
प्रेमीको हातमा
गुलावको फूल दिन पनि
अलिकति बल गर्नै पर्छ
बिना बल प्रयोग त
पात पनि हल्लिदैन
वरको सिन्को पर पनि सर्दैन !
बच्चा जन्माउन
आमाले अतिसय बल गर्नु पर्छ
स्वयम् बच्चा पनि बल गर्दै जन्मन्छ
बल गर्दै घिस्रिन्छ
बल गर्दै वामे सर्छ
बल गर्दै उभिन्छ
भित्ता समातेर बल गर्दै पाइला चाल्छ
आमा वुवाको औंला पक्रेर
बल गर्दै हिड्न सिक्छ
बिना बल प्रयोग
विरुवा पनि उम्रदैन
दैलो पनि उघ्रदैन !
जुलुसमा पुलिसले बल प्रयोग गर्छ
आन्दोलनमा सेनाले बल प्रयोग गर्छ
बल प्रयोगकै लागि बन्ने गर्छन-
बन्दूक, बम, ट्याङ्क, मिशायल र फाइटर जहाज
देशहरू बल गरेरै जन्मेका हुन्
देशहरू बल गरेरै जोगिएका हुन्
श्रृष्टिको सारा अस्तित्व
बल र प्रति-बल प्रयोगमै टिकेको छ
जुन देशमा बस्छौं हामी
यो स्वयम छल र बलबाट जन्मेको हो
बिना बल प्रयोग त
हर्पेमा राखेको घिऊ
र बिझेको काँडा पनि निस्कदैन !
बल गरेरै बग्छन नदीहरू
पहराहरूसँग जुध्दै
थुनिदै , घेरा तोड्दै , हाम्फाल्दै
नागवेली बाटो अल्छी नमानी पार गर्दै
बल गर्दै गर्दै पुग्छन ती सागरसम्म
अलि अलि बल त
आमाको दूध चुस्न पनि गर्नु पर्छ
बिना बल प्रयोग
मुखको भात पनि पेटमा जाँदैन !
स्थिर बस्तुलाई गति दिन बल गर्नु पर्छ
गतिशिल वस्तुलाई रोक्न पनि बल गर्नु पर्छ
बल गरेरै फेरिन्छ समाज
बल गरेरै उल्टिन्छ क्रान्ति
चराहरू
बल गरेरै उड्छन् आकासमा
माछाहरू
बल गरेरै पौडन्छन् नदीमा
आ-आफ्नो गुरुत्वाकर्षण बलमै
आकासीय पिण्डहरू यथास्थानमा छन्
बिना बल प्रयोग त
न रात पर्छ
न त बिहान नै हुन्छ
बिना बल प्रयोग त
न यात्रा हुन्छ न गन्तव्य पुगिन्छ !
भारी बोक्न बल गर्नु पर्छ
गिट्टी फोर्न बल गर्नु पर्छ
हलो जोत्न बल गर्नु पर्छ
बल गरेरै
शिखर चुम्छन् आरोहीरू
बल गरेरै
दौड जित्छन् धावकहरू
बल गरेरै
कुस्ती जित्छन् कुस्ती खेलाडीहरू
पाकेको फल टिपेर खान पनि
चढ्नै पर्छ रुख
गर्नै पर्छ बल
प्रेम सफल हुन त
विश्वासको बलले जित्नु पर्छ मन
बिना बल प्रयोग
शस्त्र-बल सहितको सत्ता कसरी ढल्छ ?
तर,
जब म बल प्रयोगको बारेमा बोल्छु
र भन्छु-
‘क्रान्तिमा बल प्रयोग अनिवार्य छ’
उनीहरू मलाई
बल प्रयोगकै धम्की दिदै भन्छन-
‘तँ जङ्गली,
तँ निरङ्कुश,
तँ हिंसावादी
आदि आदि !
म बारम्बार सोच्ने गर्छु-
यो बल प्रयोगको अधिकार
के बलियाले निर्धालाई प्रयोग गर्न मात्र हो ?
यो बल प्रयोगको अधिकार
के राज्यले नागरिकमाथि प्रयोग गर्न मात्र हो ?
यो बल प्रयोगको अधिकार
के महाजनहरूको लागि मात्र हो ?
सबै कुरामा गर्न बल प्रयोग गर्न मिल्ने
सबै कुरामा बल प्रयोग गर्नै पर्ने
तर भोका नाङ्गाहरूले लड्न
र आफ्नो राज ल्याउन
फिटिक्कै प्रयोग गर्न नमिल्ने
को हो त्यो नामुद फटाहा ?
बल गरेरै सोध्नु छ एउटा प्रश्न
यो देशका वुध्दिजीवीहरूलाई
यो देशका कविहरूलाई
यो देशका कवयत्रीहरूलाई
के तपाई यहाँसम्म आइपुगेको
पटक्कै कुनै बल नगरी
हावाले उडाएर हो ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार