
नेपालको छिमेकी मुलुक चीनले रेल कुदाएको १५५ वर्ष बितिसक्दा पनि नेपालीको रेल चढ्ने सपना अझै साकार हुन सकेको छैन। नेपाल र चीनबीचका हिमाल छिचोलेर चिनियाँ रेल नेपालमा गुड्ने सपना साँचेको पनि ५ वर्ष नाघिसकेको छ।
नेपाली सञ्चारमाध्यममा सबैभन्दा रुचाइने सामग्री नै रेलसम्बन्धी हुने गरेका छन्। आजको लेखोटमा चाहिँ चिनियाँ रेलका केही रोचक पक्ष साथै माओ चतुङको निजी रेलबारे केही जानकारी दिने प्रयास गरेको छु।
१ लाख ४६ हजार किलोमिटरको चिनियाँ रेलवेलाइन विश्वको दोस्रो ठूलो सडक सञ्जाल हो। चीनमा हाल ३८ हजार किलोमिटर उच्च गतिको रेलवे लाइन छन्। विश्वमा सञ्चालित उच्च गतिको रेलवे सेवामा चीनले मात्र ८० प्रतिशत हिस्सा आगेटेको छ।
चीनमा रेलको इतिहास निकै रोचक छ। छिङ राजवंशको अन्त्यतिर सन् १८६५ मा राजमाता छिसी चीनको शासक थिइन्। त्यतिबेला बेइजिङमा ६ सय मिटरको छोटो रेलमार्ग निर्माण भएको थियो। त्यो नै चीनको पहिलो रेलमार्ग मानिन्छ। रेलवेको निरीक्षण गर्न राजमाता छिसी घोडाले तान्ने टाँगामा बसेर गएकी थिइन्।
रेल निरीक्षण क्रममा उनले दिएको निर्देशन उत्तिकै रमाइलो छ। आफू चीनको शासक भएकाले रेलभित्र चालकभन्दा पहिले आफू प्रवेश गर्ने र चालकले उभिएरै रेल चलाउनुपर्ने उनको निर्देशन थियो। राजमाताको यस्तो निर्देशनमा शासकको अहंकार र मनोवृत्ति स्पष्ट झल्किन्छ। त्यतिबेला शासकका अगाडि सेवकलाई बस्न अनुमति थिएन। त्यही भएर उभिएरै रेल चलाउनुपरेको रमाइलो इतिहास बोकेको चिनियाँ रेल यतिबेला विश्वमा चीनलाई चिनाउने पर्याय बनेको छ।

चीनमा यतिबेला यातायातको सबैभन्दा लोकप्रिय सवारीसाधन रेल बनेको छ। त्यसमा पनि उच्च गतिको रेललाई सबैको प्राथमिकतामा पर्ने गरेका छन्। चीनका सबैजसो प्रान्तमा उच्च गतिका रेल पुगिसकेका छन्। चीन भ्रमणमा आउने प्रायः विदेशी पर्यटकले चीनको उच्च गतिको रेल चढ्ने चाहना राखेकै हुन्छन्। चीनमा प्रतिघण्टा २ सय किलोमिटरभन्दा बढी गुड्ने रेललाई उच्च गतिको मानिन्छ। सबैभन्दा छिटोचाहिँ प्रतिघण्टा ३५० किलोमिटर गुड्ने रेल मानिन्छ, जसलाई ‘बुलेट ट्रेन’ पनि भनिन्छ। यसका थुप्रै किस्सा छन्। पहिलो हो– बेइजिङदेखि साङहाईसम्म यात्रा गर्न हवाइजहाजभन्दा रेल छिटो हुन्छ भनिन्छ।
बेइजिङदेखि साङहाईको दूरी लगभग १२ सय किलोमिटर छ र उच्च गतिको रेललाई यो दूरी पार गर्न साढे ४ घण्टा लाग्छ। हवाइजहाजलाई भने डेढ घण्टा मात्र लाग्छ। अनि कसरी हवाई जहाजभन्दा रेल छिटो भयो?
कारण हो- हवाई जहाज विमानस्थलमा दुई घण्टा अगाडि नै पुग्नुपर्छ। अवतरणपछि पनि समान लिन र विमानस्थलबाट बाहिर निस्कन झण्डै १ घण्टा लाग्छ। तर रेल यात्रा गर्न १५/२० मिनेट मात्र अगाडि रेलवे स्टेसनमा पुगे हुन्छ र रोकिएपछि सरासर निस्कन पाइन्छ। अर्को कुरा हवाई जहाज उड्ने समय केही ढिला हुनुलाई सामान्य मानिन्छ तर उच्च गतिको रेल प्रस्थान गर्ने समय एक मिनेट पनि ढिला हुनु हुँदैन। यी सबै समय गणना गर्दा बेइजिङबाट साङहाई पुग्न हवाई जहाजभन्दा रेल छिटो हुने गरेको हो।
उच्च गतिको रेलको अर्को विशेषता हो- ३५० किलोमिटरको गतिमा गुडिरहेको रेलको डब्बामा हुने टेबुलमा पानीले भरिएको गिलास राख्दा एक थोपा पनि खस्दैन। कसै कसैले त टेबुलमा अन्डा राखेर पनि परीक्षण गरेका छन्।

चीनमा रेल अत्यन्त लोकप्रिय भएकै कारण बेइजिङमा रेलवे संग्रहालय पनि स्थापना गरिएको छ। बेइजिङको छायोयाङ जिल्लामा रहेको रेलवे स्रंग्रहालयले हजार वर्गमिटर ओगटेको छ। सन् १९७८ मा स्थापित यो संग्रहालय पहिले चीनको रेल मन्त्रालयको विज्ञान र प्रविधि संग्रहालयअन्तर्गत थियो। सन् २००३ मा यसको नाम फेरेर चिनियाँ रेलवे संग्रहालय बनाइएको हो। जसले चिनियाँ रेलको सिंगो इतिहास बोकेको छ।
तीनवटा भवनमा स्थापित संग्रहालय रहेका रेलका विभिन्न प्रविधिमध्ये शून्य नम्बरको वास्प इन्जिन सबैभन्दा पुरानो हो। ‘शून्य नम्बरको’ वास्प इन्जिन लोकोमोटिभ प्रविधिबाट चलाइन्थ्यो। यो प्रविधिमा गुड्ने रेलको गति प्रतिघण्टा २० किलोमिटर मात्र थियो। यो सन् १८८२ मा बेलायतमा निर्माण गरिएको प्रविधि हो।
संग्रहालयको अर्को मुख्य आकर्षण हो– ‘माओरेल’। नाम सुन्दै अचम्म ! चिनियाँ नेता माओ चतुङको नामबाट पनि रेलको नाम ! यो रेलको नाम किन यस्तो रह्यो भन्ने कुरा महत्वपूर्ण र रोचक छ।
वास्प इन्जिनको प्रविधिमा चल्ने यो रेल सन् १९४१ मा जापानमा बनाइएको हो। चीनमा केही वर्ष चलेर बिग्रिएपछि यो रेल कतै फालिएको थियो। सन् १९४६ मा रेलवेका कर्मचारीले भेट्दा यो थोत्रो र पूरै विरुप अवस्थामा थियो। यसलाई मर्मत सम्भार गरेपछि सन् १९४९ सम्म चीनमा सञ्चालित मुक्ति युद्धमा यो जनमुक्ति सेनाको सामान ढुवानीका लागि उपयोगमा आएर इतिहासमा धेरै महत्वपूर्ण योगदान दियो।
सन् १९४९ अक्टोबर १ मा नयाँ चीन स्थापना भएपछि बेइजिङबाहिरका ठाउँ भ्रमण गर्नुपर्दा माओ चतुङले यही रेल प्रयोग गर्न थाले। सुरक्षाका लागि माओले यात्रा गर्दा जहिले रेल प्रयोग गर्थे।

राजधानीबाट बाहिर जाँदा माओले रेल नै प्रयोग गर्नाका पछाडि मूलतः २ कारण थिए। सन् १९७१ मा माओ चीनको दक्षिणी भेगमा गएका बेला उनी सवार रेलमै आक्रमण भएको थियो। त्यतिबेला माओ संयोगले बाँचेका थिए। अर्को कारणचाहिँ रेलमा यात्रा गर्दा काम गर्न सजिलो भएकाले पनि उनले रेल नै रोज्ने गरेका थिए।
चिनियाँ नागरिक अहिले पनि रेल यात्रा गर्दा काम गरिरहेका हुन्छन्। माओले पनि रेलमा यात्रा गर्दा स्थानीय अधिकारीसँग संवाद र उनीहरूका समस्या सुन्ने गर्थे। सधैं व्यस्त हुने भएकाले माओ यात्राका बेला पनि रेलमै बैठक/छलफल चलाइरहन्थे। उनी जुन स्थानको यात्रा गर्थे, त्यही स्थानका समस्या थाहा पाउन र जानकारी लिन रेल यात्राभर छलफल गर्थे।
माओलाई रेल यात्रामा लेखपढ गर्न पनि सजिलो लाग्थ्यो। भेटघाट गर्नु नपरेका बेला पनि माओ कि लेखन कि अध्ययनमा व्यस्त रहन्थे। तसर्थ यसका लागि पनि उनलाई रेल यात्रा सुनौलो अवसर हुन्थ्यो।

संग्रहालयमा रहेको माओरेल अवलोकन गर्दा पनि उल्लिखित कुरा पुष्टि हुन्छन्। माओ चढ्ने रेलमा उनको छुट्टै कार्यालय स्थापना गरिएको थियो। डेस्क, टेबुल बत्ती, पुस्तक दराज, मेच आदि राखिएको उनको अध्ययन कोठा पनि संग्रहालयमा राखिएको छ।
त्यसैगरी उनी सुत्ने पलङ, डसना तथा सिरक पनि अहिलेसम्म संरक्षण गरेर राखिएका छन्। यस्तै हेड बोर्ड, चप्पल, आलमारी, साइड टेबुललगायत उनका घरायसी प्रयोगका सबै सामग्री पनि माओरेलका डिब्बामा छन्।

रेलको एउटा डब्बामा रहेको माओको बैठक कोठा पनि निकै आधुनिक र सजावटपूर्ण छ। सोफा, कफी राख्ने टेबुलसँगै पाहुना बस्ने र कुराकानी गर्ने ठाउँ पनि उस्तै आकर्षक छन्। माओ त्यही कोठामा बसेर चीनका विभिन्न क्षेत्रका अधिकारीसँग देशको शासन शैलीबारे छलफल गर्थे।
रेलवे संग्रहालयमा रहेको यो रेलले चिनियाँ रेलको मात्र नभई राजनीतिको इतिहास पनि बोकेको छ। अनि माओ चतुङको जीवनको एउटा अभिन्न पाटोको व्याख्या पनि गरेको छ। त्यही भएर यो रेलको नाम ‘माओरेल’ राखिएको हो।
नेपालखबरका लागि चेतन आचार्यले चीनबाट लेख्नु भएको रिपोर्ट ।







