
छुट्टै संगठन संरचना तयार गरिरहेको डबल नेकपा ओली समूहमा बादल समुहले विवाद खडा गरेको बताइएको छ ।
नयाँ नेतृत्व चयन गर्न सो समुहको युवा संगठनको राष्ट्रिय भेला रामबहादुर थापा बादल समूहका युवा नेताहरुले बहिष्कार गरेका छन् ।
बादल निकट वीरु तामाङको नेतृत्वमा भेला बहिष्कार गरिएको छ । तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए भने ढुंगाना सचिव थिए । ‘३३५ जनाको कमिटीमा ८१ जनाले गरेको निर्णय अवैध हो । एक तिहाइले नयाँ नेतृत्व चयन गर्ने भन्ने नै हुँदैन’, सबित ढुंगानाले भने ।
एमाले र माओवादी एकतापछि युवा संघमा ३३५ सदस्यीय कमिटी बनेको थियो । सहसंयोजक रमेश पौडेलको नेतृत्वमा भएको भेलामा ८१ जना मात्र सहभागी रहेको ढुंगानाले बताए ।
बादल निकटहरुले बहिष्कार गरेपनि भेलाले नेतृत्व चयन प्रक्रिया भने अगाडि बढाएको छ । एक नेताका अनुसार आइतबार नै सहसंयोजक पौडेललाई संयोजक घोषणा गरिएको थियो । तर त्यसमा सबै एकमत नभएपछि नयाँ संयोजक तोक्नेगरी छलफल भइरहेको छ ।







