
जनमत सङ्ग्रहसम्म काठमाडौंको भूगोल, वातावरणीय मात्र होइन, राजनीतिक परिदृश्य पनि फरक थियो । नदीमा कञ्चन पानी बग्थ्यो । शीतयाममा उपत्यकाका तीनै जिल्लामा भुइँ कुहिरीलो छपक्कै ढाक्थ्यो । डाँडाकाँडामा चिसो स्याँठ चल्थ्यो ।
उपत्यकाको राजनीति अतिक्रमित भइसकेको थिएन । बाह्य जिल्लाहरूको प्रभाव पनि उतिसाह्रो बढेको थिएन । ती दिन सम्झँदै राजनीतिक विश्लेषक सीके लाल भन्छन्, “जनमत सङ्ग्रहको बेलामा त उपत्यकामा आन्दोलन, जुलुस धर्ना गर्ने बाहिरका मान्छे हुँदैहुँदैनथे । किनकि, त्यतिबेला त बाहिरबाट काठमाडौं भित्रनेको चाप बढेकै थिएन ।”
तर, त्यसपछिको परिदृश्य भने फरक भयो । २०३६ सालको जनमत सङ्ग्रहपछि काठमाडौं भित्रनेको सङ्ख्या ह्वात्तै बढ्यो । राजनीतिक, आर्थिक, प्रशासनिक क्षेत्रमा उनीहरूको उपस्थिति पनि बढ्यो । उपत्यकावासी कर्नरमा पर्दै गए ।
त्यसैको असर हुनुपर्छ, २०४६ को व्यवस्थाविरोधी र २०६२-६३ को दोस्रो जनआन्दोलनको अन्त्यतिरमात्रै उपत्यकाबासी आन्दोलित भए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद् भङ्ग गरेपछि उपत्यकाको सडक असान्त छ । प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र प्रतिगामी ठहर गर्दै नेकपाको एउटा समूह अहिले सडक सङ्घर्ष गरिरहेको छ । आफ्नो कदमको बचाउ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सडकमा आमसभा गर्दै हिँडेका छन् । र, दुवैतर्फ सभा, जुलुस र आमसभाको प्रतिस्पर्धा नै देखिन्छ ।
प्रचण्ड–माधव नेपाल समूहले पुस १४, माघ ९ र २८ गते गरी तीनपटक काठमाडौँमा ठूला विरोध प्रदर्शन र सभाको आयोजना गर्यो । प्रचण्ड-नेपाल समूहको सभालाई काउन्टर दिन ओली पक्षले माघ २२ गते नारायणहिटीअगाडि जनसभा गर्यो ।
यी चारवटै सभामा उपत्यकाका रैथानेहरूको उपस्थिति न्यून देखिन्थ्यो । दुवै समूहलाई बाहिरबाट नेता–कार्यकर्ता र नागरिहरू ओसारेर सभा गर्नुपरेकोजस्तो देखिन्थ्यो ।
प्रचण्ड–नेपाल समूहले बुधबार इतिहासकै ठूलो जनसभा आयोजना गरेको जिकिर गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले मञ्चबाटै पाँच लाख नागरिक आमसभामा सहभागी भएको सन्देश पाएको जिकिर गरेका थिए ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नारायणहिटीको पटाङ्गिनीमा अहिलेसम्मकै बढी मानिस उतारेको जिकिर गरेका थिए ।
दुवै पक्षको दाबी, जिकिर आफ्नो ठाउँमा छ । तर, दुवै पक्षलाई काठमाडौंबासीले विश्वास गरिनसकेको र बाहिरबाटै नागरिक ल्याएर शक्ति प्रदर्शन गर्नुपर्ने बाध्यता रहेको विश्लेषकहरू बताउँछन् ।
आजको सभामा उपत्यकाका रैथानेहरूको उल्लेख्य सहभागिता रहने नेकपाले आकलन गरेको थियो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले उपत्यकाबाट बढीभन्दा बढी नागरिक उतार्ने जिकिर गरेका थिए ।
तर, सोचेअनुरूप उपत्यकावासी आमसभामा सहभागी भएनन् । बाहिरबाटै ल्याएका नागरिकले आमसभा स्थल खचाखच भयो । विश्लेषक सीके लालले प्रचण्ड-नेपालले जनतालाई अझै आश्वस्त तुल्याउन नसकेको र आन्दोलनमा किन आउनुपर्ने हो भनेर बुझाउन पनि नसकेको बताउँछन् । दृश्यमा प्रतिनिधिसभा विघटनको मुद्दा देखिएका त्यसले जनतालाई नछोएको उनको विश्लेषण पनि छ ।
“यो सत्ताको खेल हो भन्ने सबैले बुझेका छन् । सत्ताको खेलमा सत्तासँग जोडिएका, गाँसिएकाहरूको रुचि बढी हुन्छ,” सीके लाल भन्छन्, “नपाउनेले विरोध गर्छ, गुमाउनेले रक्षा गर्न खोज्छ । अहिलेको मुद्दा जनजीवनसँग गाँसिएको छैन ।”
काठमाडौं उपत्यकामा निम्न मध्यम वर्गको बाहुल्यता रहेकाले उनीहरूको चरित्र हत्पत्ति आन्दोलनमा नआउने किसिमको रहेको उनको बुझाइ छ ।
“काठमाडौंमा उच्च र मध्यम वर्ग नभएका होइनन् । उनीहरूको सङ्ख्या कम छ । निम्न मध्यम वर्गकै बाहुल्यता छ । ठेला, फुटपाथमा सामान बेचेर, पसल थापेर, विभिन्न क्षेत्रमा मजदुरी गरेर गरिखाने वर्ग हुन् उनीहरू । त्यस्ता वर्गलाई आन्दोलन, जुलुस, धर्नामा गए रोजगारी गुम्ने भय हुन्छ ।”
केही अवसरका ढोका खुल्लान्, नयाँ परिवर्तन केही भइहाल्ला भनेर मानिसहरू आन्दोलित हुने बताउँदै सीके लाल निम्न मध्यम वर्गसँग अहिले कुनै त्यस्तो आशा नरहेको निष्कर्ष निकाल्छन् । “भएकोलाई जसरी हुन्छ जोगाउने निम्न मध्यम वर्गको चरित्र हुन्छ । निम्न मध्यम वर्ग सडकमा नआइदिँदा बाहिरबाट मानिसहरू ल्याउनुपरेको छ,” उनी भन्छन् ।
काठमाडौंमा जुलुस निकाल्न मधेसबाट मान्छे
बुधबारको आमसभाका लागि मङ्गलबार बेलुकीबाटै गाडीगाडीका मानिसहरू काठमाडौं भित्रन थालिसकेका थिए । धेरै सहभागी प्रदेश नम्बर दुईबाटै आएका थिए ।
यसअघिका सभामा पनि प्रदेश नम्बर दुईबाट मानिसहरू ओसारिएको थियो । यहाँसम्म कि, ओली समूहको युवा सङ्घले प्रज्ञा भवनमा आयोजना गरेको वाग्मती प्रदेशस्तरीय भेलामा पनि दुई नम्बर प्रदेशबाट नागरिकहरू ल्याइएको थियो । यसअघिका सभामा पनि दुई नम्बर प्रदेशकै अधिक अनुहार देखिन्थ्यो ।
विश्लेषक सीके लाल मधेसमा जनघनत्व बढी भएको र कम खर्चमा बढी मानिस उतार्न सकिने हुनाले सबैले आँखा दुई नम्बर प्रदेशमा गएको बताउँछन् ।
“मधेसमा गरिबी छ, अभाव छ, बेरोजगारी छ । जनघनत्व पनि त्यहीँ छ । कम खर्चमा धेरै मानिस ल्यान सकिने भएपछि अन्त किन लाग्छन् ?” उनी भन्छन्, “आजमात्र होइन, धेरै पहिलेदेखि मधेसबाटै नागरिक ओसारेको हामीले देखेका छौँ ।”
बाह्रखरीले गरेको विश्लेषण ।







