
विप्लव नेतृत्वको नेकपासहितका चार कम्युनिस्ट पार्टीले विहीबार रणनीतिक संयुक्त मोर्चाको अवधारणासहित वैकल्पिक व्यवस्थाको खाका प्रस्तुत गर्ने भएका छन् ।
आज दिउँसो १ बजे यसका लागि विप्लव नेकपासहित मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले संयुक्त रुपमा वैकल्पिक व्यवस्थाको घोषणा गर्न लागेका हुन् ।
संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने विषयमा सहमत हुँदै चार कम्युनिस्ट पार्टीले यस अघि नैं रणनीति संयुक्त मोर्चा निर्माण गर्ने सहमति गरेका थिए ।
त्यही सहमति अनुसार चार पार्टीले काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनबाट बिहीबार भव्य समारोहबीच संयुक्त मोर्चाको अवधारणा पत्र र संघर्षका कार्यक्रमको घोषणा गर्न लागेका हुन् ।
यी चार कम्युनिस्ट पार्टीको यो संयुक्त मोर्चाबाट क्रान्तिकारी पंक्तिलाई उत्साहित बनाएको छ भने आमूल परिवर्तनका पक्षधर जनताले पनि आशाको नजरले हेरेका छन् ।
नेपालमा संसदवादी धार बलियो बनिरहेको बेला यी चार कम्युनिस्ट पार्टीले थालेको नयाँ संयुक्त मोर्चाको निर्माणले यो शक्तिलाई सिंगो देशको वैकल्पिक शक्तिको रुपमा हेरिन थालेको विश्लेषकहरुले बताउने गरेका छन् ।







