नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले चार कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रमको लक्ष्य नेपालका सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गर्नु रहेको बताएका छन् ।

जनगणतन्त्र र वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्य पूरा गर्न आवश्यक परे अन्तिम युद्ध लड्न तयार रहेको वैद्यले चेतावनी दिए ।

आज देशमा देखा परेको संकट कुनै व्यक्ति विशेषको मात्र नभएर सिंगो ब्यवस्थाको असफलता भएको वैद्यको दाबी छ । साथै वैद्यले नेपालमा व्यवस्थाको मात्र असफलता नभई दक्षिणपन्थी संशोधनवादको पनि असफलता भएको जिकिर गरे ।

वैद्यले अब केपी ओली र प्रचण्डहरुको दिन गएको बताउँदै नेपालमा क्रान्तिकारीहरुको जित हुने र त्यसको नेतृत्व आफुहरुले गर्ने दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनीले नेपालमा प्रतिगमन जनमुक्ति सेनाको विघटनसंगै शुरु भएको बताए ।

प्रचण्ड माधव समुहको जारी प्रतिगमन विरोधी आन्दोलनबारे बोल्दै लोहनीले अहिले गरिएको आन्दोलनको कुनै अर्थ नरहेको दाबी गरे । नेपालमा अबको विकल्प भनेको चार कम्युनिस्ट पार्टी मात्र भएको बताउँदै लोहनीले विप्लव नेकपा अब सडकमा आउनु पर्ने बताए ।

प्रचण्ड समुहको आन्दोलनको कुनै औचित्य नभएको भन्दै उनले अब वैज्ञानिक समाजवादको बाटोमा जानु पर्ने बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार