
इतिहासको
यो संगीन मोडमा
फेरी २६ औं जनयुद्ध दिवस
फागुन एक आयो
जनयुद्ध दिवस
नयाँ सङ्कल्प बन्नुपर्छ
राष्ट्रिय स्वाधीनता र
उत्पीडित वर्गको सपनाहरू
पूरा गर्ने प्रतिबद्धता बन्नुपर्छ
फागुन एकले
दलाल पुँजीवादको किल्लामा
भुकम्प ल्याउनुपर्छ
संसदीय लुटको क्याम्पमा
क्रान्तिकारी धक्का दिनुपर्छ
निमुखाको मझेरीमा
आशाको रक्तसंचार गराउनुपर्छ
फागुन एक
महान जनयुद्ध दिवस
स्मृति दिवस मात्रै हुँनु हुँदैन।
फागुन एक
एउटा अविस्मरणीय दिन
शोषित उत्पीडित वर्गले
उन्मुक्तिको सपना देखेको दिन
कालजयी रक्तिम इतिहास
एउटा युगान्तकारी दिन
विजयको सगरमाथा उक्लिदै
कालो अँध्यारो रात चिरेर
एका बिहानै
सुर्यको रक्तिम किरण
झुपडीहरूमा झुल्केको दिन ।
फागुन एक
जनयुद्ध दिवस
नेपाली सर्वहारा वर्गले
आफ्नो हकहितका लागि
बन्दुक बोकेको दिन
कम्युनिस्ट आन्दोलनमा
गोैरवपुर्ण इतिहास
जनपक्षीय राजनीतिको
एेतिहासिक सुरुवातको दिन ।
फागुन एक
चाहेर पनि भुन्न सकिन्न
ती आँधीमय दिनहरूको
प्रत्येक वर्ष याद आउँछ
अतिततिर फर्किदा
फागुन एक
महान जनयुद्ध दिवस
कहिले युद्ध मोर्चामा मनाइन्थ्यो
कहिले हिरासत जेलमा मनाइन्थ्यो
कहिले हाँस्दा हाँस्दै रोएर,
कहिले रुँदा रुँदै हाँसेर मनाइन्थ्यो ।
फागुन एक
त्यो विशेष दिनसँग
यो पंक्तिकारको पनि
अलिकति रगतको साइनो छ
अलिकति पसिनाको साइनो छ
सर्वहारा वर्गीय
विचार, भावनाको साइनो छ
त्यसैले त,
फागुन एक प्रिय छ
घरिघरि हरेक पल
अविस्मरणीय क्षण बनेको छ ।
विडम्बना !
पछिल्ला वर्षहरूमा
समयको गोलचक्रले
उल्टो दिशानिर्देश गरेको छ
दस बर्षे जनयुद्धको उपलब्धि
हराएको छ र हराइएको छ
शान्ति प्रकृयाको नाममा
कालो संविधानको नाममा
बुर्जुवा गणतन्त्रको नाममा
एउटा रातो इतिहासको
मुख्य पुँजी मेटाइएको छ
देशमा फेरि
नयाँ नयाँ रूप रंगमा
पुरानै यथास्थिति फर्किएकोे छ
जनयुद्ध दिवस केवल दिवस
स्मृतिमा मात्रै सीमित भएको छ
सिङ्गो माओवादी आन्दोलन
विघटन गरिएको छ !
फागुन एक
यो २६ औं जनयुद्ध दिवस
नजिकै आउँदा
खल्लो महसुस भएको छ
सत्यलाई असत्यको पहाडले
आँखै अगाडि ठिङ्ग उभिएर
चारैतिर छेकिरहेको छ
चन्द्र चुम्ने उद्देश्यको अभियान
भोैतिक रुपले
राजनीतिक, वेंचारिक रुपले
स्खलित भएको छ
निराशाको बादल छिचोल्दै
अलिकति बचेको
आस्थाका एकाद सुनगाभाहरु
अङ्कुराउन गार्हो मनिरहेछन्
माओवाद यतिबेला
खाओवादको नजरबन्दमा परेको छ !
खाओवाद
माओवादभित्र जन्मिएको
वर्गउत्थानवाद
जसले जनले जिते भन्दैछ
जनयुद्धको सपना पूराभए भन्देैछ
जनले जिते भन्नुको पछाडि
खाओवादमा
वैंचारिक पतनको श्रृङ्खला छ
वर्गउत्थान पछि
माओवादको बगैंचामा
दलाल पुजीवाद
दिनानुदिन हुर्किरहेको छ
खाओवादले
परिवारवाद, नातावाद
कृपावादलाई प्रोत्साहन गर्दै
जनवाद, समाजवादमाथि
बलात्कार गरिरहेको छ ।
२६ औं जनयुद्ध दिवस
फागुन एक
कसरी मनाउने ?
सम्झनाका लागि मात्रै मनाउने कि
अँधूरो सपना पूरा गर्न
नयाँ संकल्प सहित मनाउने ?
निश्चित रूपमा
नयाँ संकल्पबिना
जनयुद्ध दिवस मनाउनुको कुनै अर्थ छैन
जनयुद्धको महान अभियान
अँधूरो मात्रै रहेन्
उपलब्धिहरू पनि रहेनन्
मुख्य राजनैतिक कमान्डर नै
साम्राज्यवाद विस्तारवाद सामु
लम्पसार परेपछि
नाङ्गै भएर चोैबाटोमा सुतेपछि
डामाडोल भैदियो ।
फागुन एक
२६ ओैं जनयुद्धको दिवस
वर्गसंघर्षको राप बन्नुपर्छ
सिर्जनात्मकताको नाममा
संसदीय भासमा पुरिएका
रणनैतिक कार्यदिशा छोडेर
केही लाख डलरमा
केही आलिशान महलमा
आत्मसमर्पण गरि
अलिकति नाम फेरिएको
पुरानै संसदीय व्यवस्थामा
चुर्लुम्म डुबेका
प्रिय लाल गद्दारहरूको
मन मस्तिष्कमा पनि
फागुन एक
जनयुद्ध दिवसले
नयाँ सद्बुद्दि दिलाओस् ।
फागुन एक
महान जनयुद्ध दिवसले
क्रान्तिकारी आँधीबेहरी ल्याओस्
वर्गसंघर्षको भट्टिमा
एकता, संघर्ष, रुपान्तरण हुँदै
सहिदका अँधूरा सपनाहरू
सामुहिक उत्सवमा पूरागर्ने
उदात्त क्रान्ति चेतको सृजना गरोस्
शुभ कामना।
सीताराम के.सी ‘ध्रुव’
प्यूठान







