प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादल र उनको समूहको असन्तुष्टि चुलिँदै गएको छ। पार्टीभित्रको जिम्मेवारी बाँडफाँट, राजनीतिक नियुक्ति र वरियताका विषयमा थापा ओलीसँग असन्तुष्ट छन्।

त्यसमाथि ओलीले वामदेव गौतमलाई गृहमन्त्री बन्न प्रस्ताव राखेपछि बादलको समूहमा निराशा बढेको उनीनिकट नेताहरुले बताएका छन्। ओलीसँग दुरी बढ्दै गएपछि बादलले उर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि भेटेर छलफल गर्दै साथ खोजेका छन्।

माघ ६ गते भएको ओली पक्षको बागमती प्रदेशको पुनर्गठन र माघ २५ र २६ गते युवा संघको भेलामा एकलौटी गरिएको भन्दै बादलसमूहका कार्यकर्ता आक्रोशित छन्।

ओली समूहअन्तर्गत बागमती प्रदेशको अध्यक्ष आनन्द पोखरेललाई बनाइएको छ। सचिव पद बादल पक्षलाई दिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले गरेका थिए। तर, पुनर्गठनका बेला ईश्वर पोखरेलनिकट धादिङका खेम लोहनीलाई सचिव बनाइएको छ।

‘थापानिकट राजकुमार श्रेष्ठलाई बागमती प्रदेशको सचिव बनाउने तयारी थियो। तर, अन्तिम अवस्थामा बनाइएन। जसले गर्दा साथीहरुमा निरासा छाएको छ,’ बादलनिकट एक नेताले भने।

बादल समूह केन्द्रीय समितिमा पनि अत्यन्त कमजोर छ। ओलीले घोषणा गरेको एक हजार पाँच सय एक जनाको केन्द्रिय समितिमा थापा पक्षका केन्द्रीय सदस्य २२ जना मात्र रहेको ती नेताले बताए।

पार्टी विभाजनका बेला आफुलाई साथ दिँदै आएका नेताहरू सबै प्रचण्ड–नेपालतिर नै छाडेर ओली समूहमा लागेका बादलले तल्लो तहका कार्यकर्तालाई आफूतिर तान्न पद दिलाउने बाचा गरेका थिए। तर, अहिले एक जनालाई पनि बाचाबमोजिमको जिम्मेवारी उनले दिन सकेका छैनन्।

७७ वटै जिल्लामा गठन गरिएको भूमि समस्या समाधान आयोगको अध्यक्ष र विज्ञ सदस्यमध्ये एक पद आफूले पाउनुपर्ने थापाको अडान थियो। त्यसैअनुसार उनले ७७ वटै जिल्लाका नेताहरुको नामावाली पठाएका थिए।

तर, एकदुई जनाबाहेक कहीँ पनि थापा पक्षका नियुक्त नभएको बादलनिकट केन्द्रीय सदस्य राजकुमार श्रेष्ठले बताए। ‘प्रतिबद्धता जनाएको कुनै पनि स्थान नपाउने भएपछि साथीहरु कता कता लाग्छन् थाहा छैन। साथीहरुले गुनासो गरिराख्नुभएको छ,’ श्रेष्ठले भने।

अर्कोतिर युवा संघको विवादले ओली र बादलबीचको वैमनश्यलाई सतहमा ल्याइदिएको थियो। माघको २५ र २६ गते थापा पक्षका युवाहरुको बहिस्कारबीच ओली पक्षले वचनबहादुर सिंहको अध्यक्षतामा युवा संघको कार्यसमिति पुनर्गठन गरेको थियो।

जसका कारण बादल पक्षले आफूहरु पेलिएको महसुस गरेको छ। युवा संघको विवाद अझै मिलेको छैन। आगामी स्थायी समितिको बैठकमा यो विवाद समाधान गर्ने नेताहरुले बताएपनि त्यसमा समेत युवा नेताहरु ढुक्क हुन सकेका छैनन्।

‘देशभर नेटवर्क बनायौं तर युवा संघ लगायतमा एकलौटी भएपछि साथीहरुमा निराशा छाएको साँचो हो,’ श्रेष्ठले भने। तर, गृहमन्त्री बादल अहिले नै ओलीसँग भिड्ने अवस्थामा नरहेको उनी निकट केन्द्रीय सदस्य नवीन रोकामगर बताउँछन्।

पूर्वमाओवादीबाट थापा सहित, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा तामाङ र गौरीशंकर चौधरी ओली पक्षमा लागेर मन्त्री बनेका छन्।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार