आजकाल म यतै छु
सुर्योदयको लालीकिरणसँगैं
समानताको एक उत्कट चाहना बोकेर
वर्गविहीन समाज निर्माण गर्न
वर्गसंघर्षको बाटोमा निरन्तर यात्रारत
आकाश थर्काउने, धर्ति हल्लाउने
भीमकाय आवाजहरुसँगैं
बलिदानको सगरमाथा खडा गर्ने
सहयात्रीहरुको आलो रगतले
लछप्पै भिजाउँदा पनि
तिम्रो निर्देशनलाई अक्षरस
पालना गरेको क्षण
एउटा गौरव र पराक्रमको अनुभुतिमा
संसार जितुला झैं
मनहरु यसै पुलकित हुन्थ्यो ।

समाज बदल्ने महासमरको यात्रा
महाभारतका बस्तीहरुमा होस्
या तराई समतल मैदानका
मानव सागरमा
विजयको सुखद क्षणमा
या पराजयको तितो अनुभुतिमा
सहयोध्दाहरुको लासको थुप्रोसंगै
उर्लिएका विक्षिप्त भावनाहरु
आँखाको संघार नाघेर
परेली रुझाउदै छचल्किदा पनि
आफ्नै शरिरको आधा रगतले
धर्ति भिज्दा पनि
आस्था र समर्पणलाई
मालेमावादको आरनमा सान लगाउँदा
मनहरुमा उसै चम्कन्थ्यो विजयभावहरु ।।

एकमुठ्ठी सातु र एक तुम्लेट पानीले
हाम्रा भोकहरु मात्र टारेनौ
सहयोध्दाहरु गुमाउदाको पीडा
अनि शरिरका चोटहरु
र घाइते मनहरु पनि टाल्यौं
हामी एउटाले खाँदा
अर्कोले अघाएको महशुस गर्थ्यौं
तर आज हामी दुवै भोकै छौं
यतिबेला फरक यही छ
तिमीलाई बुर्जुवा सत्तामा
आरोहण गर्ने भोक लागेको छ
मलाई शहिदका अगाडि गरेको
वाचा पूरा गर्ने भोक लागेको छ
अनि मनहरु यसै उद्देलित बनेको छ ।।।

हिजो मेरो हातको बन्दुकमा
तिमी संसार जित्ने सपना देख्थ्यौ
भरोसा र विश्वासको श्वास फेर्दै
बलियो सुरक्षाकवच मान्थ्यौ
तर आज मेरो खाली हातमा
तिमीले हत्कडी लगाउँदा पनि
फेरि त्यसैलाई बन्दुक देखेका छौ
सपनीमा पनि बर्बराउँदैं
बौंलाएर उठेका छौ
हिजो र आजको बन्दुकमा
कति फरक रहेछ है
विचारमा खिया लागेपछि
बाटो बदलेर अन्तै पुगेपछि
अनि मनहरु त्राहिमाम र आतंकित बनेपछि ।।।।

मेरा पूर्व सुप्रिमो तिमी
आजकाल दुईतिहाईको बलशाली
शासक बनेका छौ
यो वर्गीय सत्तामा
शासकले दमन गरिरहँदा
शासितले प्रतिरोध गरिरहन्छ
इतिहास त दोहोरिदैन
तर नयाँ ढंगले विकास त भइरहन्छ
तिमी आफैले भनेको
कतिचाडै भुल्यौ हँ
जेलपनि एउटा युध्दमोर्चा हो भनेर
हो त्यहि मोर्चा सम्हाल्न
यो चौघेरा भित्रबाट
खुल्ला आकासमा विचरण गर्न
मेरा पूर्व सुप्रिमोले दिएको
हत्कडी लिएर ट्रेन्चमा बसेको छु
त्यसैले त आजकाल म यतै छु
हो त्यसैल त कमरेड
आजकाल म यतै छु ।।।।।

२०७६ माघ १६ गते
प्रहरी हिरासत, ई।प्र।का,धरान

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार