
Flag of USA with Flag of China Downtrend stock diagram
हालैमात्र विश्व व्यापार सङ्गठनको मर्मविपरीत संयुक्त राज्य अमेरिकाले चिनियाँ सेनाको प्रयोजनको लागि हुनसक्ने भनेर चीनमाथि विभिन्न उच्च प्रविधियुक्त माइक्रो चिप्सजस्ता वस्तुको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
यसको पछाडि चीनको आर्थिक विकासको तीव्रतालाई जसरी भए पनि रोक्ने अमेरिकाको मनसाय रहेको देखिन्छ । एकातिर चीनसँग व्यापार घाटा भइरहेको अमेरिकाको रोइलो छ भने अर्कोतिर अनेक बहानामा चीनमाथि विभिन्न वस्तुको निर्यातमा प्रतिबन्धजस्ता निर्मम उपाय अपनाएर अमेरिकाले आफ्नै व्यापार घाटालाई बढाइरहेको छ ।
विश्व व्यापार सङ्गठनको नीतिविपरीत रहेको अमेरिकी अवैध व्यापार नीतिको सामना गर्न अघिल्लो हप्तामात्र चीन सरकारले उच्च प्रविधिमाथिको अनुसन्धानमा अझ बढी लगानी गर्ने छुट्टै रणनीतिको घोषणा गरेको छ । कम्प्युटर चिप्स र अन्य उच्च प्रविधिका पार्टपुर्जाहरूको पहुँचमा बाधा पु¥याउँदा बढेको अमेरिकासँगको तनावबीच चिनियाँ सरकारले देशको आर्थिक स्वतन्त्रता वृद्धिको लागि द्रुत प्रविधिको विकासको आह्वान गरेको छ ।
औद्योगिक आपूर्ति श्रृङ्खला माथिको नियन्त्रणलाई सुधार गर्न र आत्मनिर्भर आर्थिक वृद्धिलाई दिगो बनाउन उपभोक्ताको माग बढाउन चीनले पहल गरेको देखिन्छ । राष्ट्रपति सी जिनपिङले समृद्धि र विश्वव्यापी प्रभावको माध्यमको रूपमा इलेक्ट्रिक कार, दूरसञ्चार, बायोटेक र अन्य क्षेत्रमा चिनियाँ प्रतिस्पर्धात्मक क्षमता विकास गर्न ठूलो जोड दिएका छन् । रणनीतिक कमजोरीको रूपमा देखिएको विदेशी आपूर्तिकर्तामा रहेको निर्भरतालाई न्यूनीकरण गर्न चिनियाँ सरकार भरमग्दुर प्रयास गरिरहेको छ ।
चिनियाँ सरकारले उच्च प्रविधिको विकासमा विगत दुई दशकमा उल्लेखनीय सफलता हासिल गरेको छ । सन् २०५० सम्ममा चीनले विज्ञान र नवीनतामा ‘विश्व गुरु’ बन्ने लक्ष्य राखेको छ । सन् २०१५ मा ‘मेड इन चाइना २०२५’ घोषणा गरियो, रोबोटिक्स, एयरोस्पेस उपकरण, चिकित्सा उपकरणजस्ता धेरै उच्च प्रविधियुक्त उद्योगहरूमा ‘विश्व नेता’ हुने चीनको रणनीतिलाई रेखाङ्कित गर्दछ ।
विगत २० वर्षमा चीनले आफ्नो उच्च प्रभावशाली वैज्ञानिक प्रयासहरूमा तीन गुणाले बढाएको छ । परिणामस्वरूप चीन अमेरिकापछि दोस्रो ठूलो वैज्ञानिक शक्ति केन्द्र भएको छ । २०१७ मा चीनको अनुसन्धानको खर्च करिब २८० अर्ब अमेरिकी डलर थियो जुन देशको कुल गार्हस्थ उत्पादनकोे २.१२ प्रतिशत रहेको छ । यो विश्वको अनुसन्धान र विकासमा भइरहेको कुल खर्चको २० प्रतिशत हुन आउँछ ।
उल्लेखनीय कुरा के छ भने कोरोना भाइरस महामारीपछि संसारको प्रमुख आर्थिक शक्ति राष्ट्रमध्ये आर्थिक वृद्धि भएको एकमात्र राष्ट्र चीन हो । यद्यपि आर्थिक पुनःउत्थानले अझै ठोस गति लिन सकेको भने छैन । चिनियाँ सरकारले अनुसन्धान र विकास केन्द्रहरू स्थापना गर्न विश्वविद्यालय र अन्य संस्थाहरूको ‘राष्ट्रिय टोली’ को लागि १० वर्षको ‘कार्य योजना’ तयार गरेको छ जसअनुसार कम्पनीहरूलाई ‘नवप्रवर्तन समूह’ गठन गर्न प्रोत्साहित गरिनेछ । चिनियाँ सरकारले पञ्चवर्षीय विकास खाकाको पनि घोषणा गरेको छ । यसले चीनलाई आत्मनिर्भर ‘उच्च प्रविधि शक्ति’ बनाउनको लागि सहयोग पु¥याउने छ ।
उच्च प्रविधि चिनियाँ सरकारको दीर्घकालीन अभियानको आधारशिला हो जसले व्यापार र लगानीको सट्टा घरेलु उपभोग खर्चबाट सञ्चालन गर्न र ‘मध्यम समृद्ध समाज’ निर्माण गर्न प्रोत्साहित गर्दछ । चिनियाँ कारखानाहरूमा विश्वको अधिकांश स्मार्ट फोनहरू, कम्प्युटर र इलेक्ट्रोनिक्स वस्तु निर्माण हुन्छन् तर त्यसको लागि अमेरिकी, युरोपेली र जापानी प्रोसेसर चिप्स र अन्य पार्टपुर्जाहरू चाहिन्छ । ट्रम्प प्रशासनले चीनको पहिलो विश्व प्रविधि ब्रान्ड हुवावेको प्रविधि कम्पनीको लागि चाहिने धेरैजसो अमेरिकी चिप्स र टेलिकम उपकरणको पहुँच बन्द गरेको छ । अमेरिकाले हुवावेविरुद्ध संसारभर आफ्ना नजिकका मित्र राष्ट्रहरू क्यानाडा र बेलायतजस्तालाई भड्काउने अभियान नै चलाएको छ ।
अमेरिकाले चीनको सबैभन्दा ठूलो चिप्स निर्माता सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ्ग इन्टरनेशनल कर्पोरेसन र एयरोस्पेस, रकेट्री र आणविक ऊर्जा उपकरण आपूर्तिकर्ता लगायतका कम्पनीहरूमा पनि निर्यात रोक्न तथा अन्य प्रतिबन्ध लगाएको छ । विशेषगरी अमेरिकी प्रोसेसर चिप्स स्मार्टफोन, इलेक्ट्रिक कार र अन्य प्रविधि माथिको निर्भरताबारे चिनियाँ सरकार चिन्तित देखिन्छ । सेमीकण्डक्टर आयात मूल्य चीनको कच्चा तेलको मूल्यभन्दा बढी छ । चीनले ३ खर्ब डलरभन्दा बढीको सेमिकण्डक्टर आयात गर्छ भने २ खर्ब ४२ अर्ब डलरको मात्र तेल आयात गर्छ ।
चीनको विशाल निर्माण उद्योगहरूको माध्यमबाट औद्योगिक आपूर्ति श्रृङ्खलाको ‘स्वतन्त्र नियन्त्रणको क्षमता’ लाई बढाउनको लागि पनि जोड दिइएको छ । चीनको आफ्नै आधारभूत सामग्रीहरू आपूर्ति गर्न पूर्वाधार बनाउने पहल गर्न आह्वान गरेको छ । सरकारले आन्तरिक माग बढाउन पनि ‘नयाँ विकास ढाँचाको निर्माणका लागि महत्वपूर्ण सहयोग’ को रूपमा आह्वान गरेको छ ।
सन् २०१६ देखि विश्वव्यापीरूपमा सञ्चालनमा आएको सबैभन्दा धेरै औद्योगिक रोबोट चीनको रहेको छ । सन् २०१६ मा अपनाइएको रोबोटिक्स उद्योग विकास योजनाको उद्देश्य औद्योगिक रोबोटिक्स क्षेत्रको विकासलाई तीव्रता दिनु हो । अहिले पनि चीनले १ लाख ५० हजार औद्योगिक रोबोट एकाइहरू उत्पादन गरेर प्रयोगमा ल्याइरहेको छ । यसैगरी सन् २०३० सम्ममा १ लाख ११ हजार मेगावाट आणविक ऊर्जा उत्पादन गरेर चीन विश्वको सबैभन्दा ठूलो परमाणु शक्ति बन्ने छ । अनुसन्धान र विकास रणनीतिको आधारमा आणविक ऊर्जा, नयाँ ऊर्जा सवारी साधन, हावा र सौर्य ऊर्जा, आर्टिफिसियल इन्टलिजेन्स, रोबोट र ड्रोनजस्ता उच्च प्रविधि क्षेत्रमा चीन द्रूत गतिमा अमेरिकाको प्रतिस्पर्धी भएको छ ।
अमेरिकी सरकारको यो कुटिल कदमको सामना गर्न ती क्षेत्रको विकासमा चीनले विशेष जोड दिएको छ । जसअनुसार चीनले ‘राष्ट्रिय रणनीतिक विज्ञान र टेक्नोलोजी शक्ति सुदृढ’ अभियानमा उच्च प्राथमिकता दिएको छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)







